कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
223

‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरूलाई इन्टर्नसिप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धी एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।
खल्तीकातर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनकातर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् । सम्झौताअनुसार लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्नसिपका लागि आवेदन दिन सक्नेछन् । छोटो अवधिको इन्टर्नसिप पूरा गरिसकेपछि उनीहरूलाई ‘खल्ती’मा पूर्णकालीन रोजगारी प्रदान गरिनेछ । मुख्यतः खल्तीले विद्यार्थीहरूको कक्षाको पढाइमा बाधा नपुग्ने गरी इन्टर्नसिपका लागि अनुकूल समय प्रदान गर्नेछ ।

कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरूको समयमा बिदाको पनि व्यवस्था गर्नेछ । त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरूलाई लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । ‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरूबीच हुनुपर्ने पार्टनरसिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरूलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका प्रबन्ध निर्देशक मनीष मोदीले भने, “हामी यो सहकार्य ‘खल्ती’ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’ दुवैका लागि’ विनविनसिचुएसन’ भएको अपेक्षा गरेका छौँ ।” दुवै संस्थाहरूको एक मुख्य उद्देश्य भनेको नेपालको आईटी उद्योगको विकास गर्नु हो ।
यस सहकार्यले दुवै संस्थालाई थप ऊर्जा तथा हौसला प्रदान गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं । साथै, हामीले खल्तीमा इन्टर्नसिप गर्न आउनु हुने विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सिक्ने अवसर प्रदान गर्नुका साथै कम्पनीको कार्यबलको गुणस्तर बढाउने अपेक्षा गरेका छौं ।
त्यस्तै, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलानले भने, “खल्ती जस्तो एक प्रतिष्ठित कम्पनीसँग यस प्रकारको रणनीतिक सहकार्य पाउँदा हामी उत्साहित छौं । लर्ड बुद्ध एजुकेसन फाउन्डेसन विगत २१ वर्षदेखि अनवरत रूपमा सूचना प्रविधिको अध्ययन अध्यापन गराउँदै आएको देशकै अग्रणी शैक्षिक संस्था हो । खल्तीसँगको यस प्रकारको सहकार्य हाम्रा विद्यार्थीहरूलाई एकदमै प्रभावकारी हुने हामीले अपेक्षा गरेका छौं ।”
नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्तपदपूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यस सहकार्यले उद्योग र विद्यार्थीबीच रहेको उक्त खाडल केही हदसम्म पुर्ने अपेक्षा गरिएको छ ।