कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
119

आर्थिक कूटनीतिलाई केन्द्र विन्दुमा राखेर काम गर्ने नवनियुक्त राजदूतहरूको प्रतिबद्धता जनाएका छन् । राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा नवनियुक्त राजदूतहरूले व्यक्त गरेका हुन् ।
आफ्नो जिम्मेवारी सम्हाल्न त्यसतर्फ जानुअघि निजी क्षेत्रसँग छलफल गर्न महासंघ सचिवालयमा आउनुभएका अस्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरू क्रमशः महेशराज दाहाल र दावा फुटी शेर्पाको सम्मानमा महासंघद्वारा बिहीबार आयोजना गरिएको भेटघाट एवं छलफल कार्यक्रममा नवनियुक्त राजदूतहरूले सो धारणा व्यक्त गरे ।

मुलुकले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न आर्थिक कूटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा महासंघस“ग समेत नजिकमा रहेर कार्य गर्ने प्रतिबद्धता उनीहरूको थियो ।
नवनियुक्त राजदूतहरूको महासंघ सचिवालयमा स्वागत गर्नुहुँदै महासंघका अध्यक्ष भवानी राणाले विशेष गरी आफू कार्यरत मुलुकहरूमा नेपालमा लगानीको वातावरण रहेको सन्देश दिन, निजी क्षेत्रबीचको आपसी सम्बन्ध विस्तार, लगानीका क्षेत्रहरू, पर्यटन, नेपालको कला संस्कृतिलगायतका विषयमा पर्याप्त प्रचार प्रसार गरी नेपालप्रति त्यहाँका जनता तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने वातावरण बनाई दिन आग्रह गरे ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालका युवाहरूको प्रमुख रोजाई बन्दै गएको अस्ट्रेलिया र युरोपको एक महत्वपूर्ण देश स्पेनलाई नेपालसँग आर्थिक रूपमा जोड्ने इकोनमी कनेक्टीभिटीलाई मुख्य रूपमा जोड दिनुपर्ने सुझाव बताए । वरिष्ठ उपाध्यक्ष गोल्छाले नवनियुक्त राजदूतहरूलाई आफू कार्यरत देशहरूमा नेपाल लगानी सम्मेलन तथा नेपाल भ्रमण वर्षसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरूको आयोजनामा जोड दिन सुझाव दिए । आफू कार्यरत मुलुकबाट लगानी, पर्यटन, प्रविधि आकर्षण र व्यावसायिक सम्बन्ध विस्तारमा के कुराको सहयोग निजी क्षेत्रले गर्नुपर्छ, तपाईंहरूले खोजेको सहयोग गर्न महासंघ तयार छ, वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।
कुन देशमा नेपालबाट के–कस्तो वस्तु तथा सामान के–कति परिमाणमा निर्यात गर्न सकिन्छ त्यसका बारेमा आवश्यक सूचना महासंघ जस्ता संस्थाबाट उपलब्ध गराउनु पर्ने सुझाव नवनियुक्त राजदूतहरूको थियो । निजी क्षेत्रको सुभावअनुसार लगानी, प्रविधि, पर्यटन आकर्षण, बीटूबी सम्बन्ध विस्तार र व्यापार प्रवद्र्धनलाई आफूहरूले मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए ।
महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, नेपालबाट स्पेन र अस्ट्रेलियामा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरूको सहभागिता रहेको छलफल कार्यक्रममा नवनियुक्त राजदूतहरूको कार्यकालमा नेपाल र ती मुलुकका निजी क्षेत्रबीचको सम्बन्ध प्रगाढ बनाई निजी क्षेत्रमार्फत लगानी तथा प्रविधि आकर्षण गर्न सकिएमा मुलुकका लागि ठूलो उपलब्धि मिल्ने धारणा पनि राखिएको थियो ।