सरस्वती ढकाल
सोमवार, आश्विन २७, २०७६
556

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमणले निजी क्षेत्र उत्साहित बनेको छ । राष्ट्रपति सीको भ्रमणले ऊर्जा, पूर्वाधार, कृषि, कनेक्टिभीटीलगायत नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन तथा चिनियाँ लगानी भित्र्याउन टेवा पुग्ने छ । दुई देशका कार्यकारी प्रमुखबीच भएका सम्झौताको सफल कार्यान्वयन भएमा नेपालमा परिवर्तन देख्न सकिने र निजी क्षेत्रको समृद्धिको लक्ष्यमा सहयोग पुग्ने भएको छ । दुबै पक्षबाट सम्झौताको सफल कार्यन्वयनमा जोड दिनुपर्नेमा निजी क्षेत्रको जोड छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक रहेको भन्दै यसले दुई मुलुबबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै नयाँ अवसरका ढोकाहरू खुल्ने बताइन् । “पूर्वाधार विकासबिना देशको समृद्धि सम्भव छैन, राष्ट्रपतिको भ्रमणमा कनेक्टिभिटी, ऊर्जा र कृषि क्षेत्रसँग सम्बन्धित सम्झौता भएका छन्,” उनले भनिन्, “चीनको लगानी सानोसानो रूपमा आइरहेकै छ अब भने नेपालको आवश्यकता ठूलो लगानी हो यो भ्रमणले लगानी ल्याउन सहयोग पु-याउनेछ ।”

नेपाल र चिनियाँ सरकारी कम्पनीबीचको सहकार्यमा आयोजना निर्माणको समझदारी भएको र यसबाट लगानीको थप वातावरण बनेको उनको भनाइ छ । ऊर्जा क्षेत्रका दुई आयोजनाको लागत २ खर्ब रुपैयाँभन्दा बढी रहने र उर्जा क्षेत्रमा भएका यी सम्झौताले नेपालको समृद्धिमा टेवा पु-याउने अध्यक्ष राणाले बनाइन् ।
नेपाल र चीनका दुई सहरबीच पनि भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी भएको छ । काठमाडौं महानगर र नान्सी तथा बुटवल उपमहानगर र सियानबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी भएको हो । दुई सहरबीच भगिनी सम्बन्ध स्थापना हुनुले आपसी मित्रता र लगानीका लागि सकारात्मक प्रभाव पर्ने नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । “राष्ट्रपति सीले नेपाल भ्रमण गर्नु नै एउटा ठूलो उपलब्धी हो, नेपाल देश छ भनेर थाहा नपाउनेले पनि यतिबेला थाहा पाएका छन्,” अध्यक्ष श्रेष्ठ भन्छन्, “सुरुङ मार्ग, रेलवेले पर्यटक बढाउन सहयोग पु-याउनेछ ।” चीनको ठूलो लगानी भित्र्याउन पनि यो भ्रमण सार्थक हुने उनको भनाइ थियो । केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई अगाडि बढाउन चीन सक्रिय हुने राष्ट्रपति विद्यादेवी भन्डारीले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति सीले भनेका थिए । “बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं” राष्ट्रपति सीले भनेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमण सकिएपछि परराष्ट्र मन्त्रालयले आइतबार १६ बुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । चीनले अगाडी सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई)को रणनीतिलाई नेपाल र चीन दुवै देशले साझा विकास र समृद्धिको आधारका रूपमा स्वीकारेको विज्ञप्तिमा उल्लेख छ । यससँगै नेपालमा लगानी बढाउने चीनको आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी पनि बढ्दै जाने अपेक्षा गरिएको छ । चीनले नेपालको उद्योग, जलविद्युत्, होटेल, रेष्टुँरा लगायतका क्षेत्रमा लगानी गरेको छ ।