कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
294

 विराटनगर- स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखेर आगामी माघ २७ देखि विराटनगरमा विराट एक्स्पो कृषि तथा औद्योगिक प्रदर्शनी हुने भएको छ ।
कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्ने गरी एक्स्पो गर्न गर्न लागिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । प्रदर्शनी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । ‘आर्थिक विकासको मूल आधार : उद्योग, पर्यटन, कृषि र व्यापार’ मूल नाराका साथ सञ्चालन हुने एक्स्पोको मुख्य प्रायोजकमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि रहेको छ । विराटनगर–२ स्थित शंकरपुर मार्गमा हुने एक्स्पोमा ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । “एक्स्पोमा मुख्यगरी स्थानीय उत्पादन नै राखिनेछ,” संगठनका अध्यक्ष भीम घिमिरेले भने, “त्यसबाहेक विदेशी कम्पनीका स्टलहरू पनि रहनेछन् ।”

एक्स्पोले प्रदेश–१ मा लगानीको वातावरणसमेत सिर्जना गर्ने घिमिरेको दाबी छ । एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने पुलको काम गर्ने उनी बताउँछन् । “औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायिक उत्पादनमा जोड, कृषिमा यान्त्रिकीकरण, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्नेछ,” उनले भने, “सम्भावित बजारको पहिचान, पर्यटन प्रवद्र्धन, प्रविधि पहिचान, उत्पादकहरूबीच स्वस्थ प्रतिस्पर्धा, लगानीमैत्री वातावरण निर्माणमा सहयोग, विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट औद्योगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रको पहिचानका साथै शिक्षा, स्वास्थ्य क्षेत्रको गतिविधिबारे जानकारी दिइनेछ ।”
घिमिरेका अनुसार औद्योगिक उत्पादन तथा वस्तुहरू, कृषि, जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरू, विद्युतीय, घरायसी सामग्रीहरू, गार्मेन्ट, खाद्य स्वास्थ्य, शिक्षा एवं बैंक तथा वित्तीय क्षेत्रका ३ सय १५ वटा स्टल रहनेछ । १ अर्बको कारोबार हुने एक्स्पोमा ८० लाखदेखि १ करोड रूपैयाँ खर्च हुने घिमिरेले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, बाल उद्यान, खानाको विभिन्न परिकार, सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ उपलब्धिहरूको जानकारी, कृषिका उत्कृष्ट उत्पादनका साथै वस्तुहरूको अलग–अलग प्रदर्शनीको प्रमुख आकर्षण हुने आयोजक समितिका संयोजक भोलेश्वर (भोला) दुलाल ले बताए ।
राष्ट्रिय उद्योग÷व्यवसाय तथा बहुराष्ट्रिय कम्पनीहरू, कृषि तथा पर्यटन व्यवसायीहरू, शिक्षा, स्वास्थ्य, बैंकिङ, होटल व्यवसायीहरू, घरेलु तथा साना उद्योगहरूका साथै अन्तर्राष्ट्रियस्तरमा भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तानका उद्योगी-व्यवसायीहरूको सहभागिता दुलालको दाबी छ ।
“एक्स्पोले औद्योगिक वस्तुको बजार प्रवद्र्धन, औद्यौगिक क्षेत्रको सूचना प्रवाह, नयाँ प्रविधि र उत्पादनबारे जानकारी, औद्योगिक विकासमा टेवा, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार हुनेछ,” एक्स्पोबारे जानकारी दिए आयोजित पत्रकार सम्मेलनमा दुलालले भने, “उपभोक्ताहरूबीच सचेतनाका साथै उपभोक्ताको चाहना र रुचीबारे जानकारी लिई नयाँ वस्तु विकास गर्ने अवसरका लागि एक्स्पो कोसेढुंगा साबित हुने हाम्रो विश्वास छ ।” नेपाल पर्यटन बोर्ड र विराटनगर महानगरपालिका सह–आयोजक रहेको एक्स्पोको सहयोगी संस्था मोरङ व्यापार संघ रहेको छ । दुगड फुड एण्ड स्पाइसेस प्रोडक्टस प्रालि सहप्रायोजक रहँदा पिएलओ लुव्रिकेन्टस, टोयोटा मोटर्स, कन्ट्रोल लुब्रिकेन्टस, एमएम ग्रुप, विराट मेडिकल कलेज, बागमती प्लाष्टिक एण्ड प्याकेजिङ ईण्ड, अन्नपूर्ण सिमेन्ट, होङसाई सिमेन्ट प्रायोजक रहेका छन् ।
पत्रकार सम्मेलनमा संगठनका पूर्वअध्यक्ष सुशील धनावत, प्रथम उपाध्यक्ष सुषय प्याकुरेल, कार्यसमिति सदस्य नन्दकिशोर राठी, सुबोध कोइरालालगायतले एक्स्पोले पूर्वका औद्योगिक र कृषि उत्पादनलाई उपभोक्तासम्म पु-याउन मद्दत पुग्ने बताए ।

 


सातामा धेरै पढिएको