कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
471

नेपालगन्ज- ग्यावियनका लागि आवश्यक पर्ने तारजाली उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा कालिका ग्यावियन एन्ड वायर इन्डस्ट्रिज प्रालि सञ्चालनमा आएको छ । उपमहानगरपालिका–१९ मा रहेको उद्योगले गुणस्तरीय तारजाली उत्पादन गर्ने लक्ष्य लिएको छ ।
उद्योगको उद्घाटन प्रदेश सांसद कृष्णा केसी नमुनाले गरिन् । कार्यक्रममा पूर्वमन्त्री अमर केसी, नेपालगन्ज उपमहानगरपालिकी उपमेयर उमा थापमगर, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला, नेकपा प्रदेश नं. ५ का सदस्य डम्बर बिक तुफान, नेकपाका नेता भीम केसी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य अच्यूत प्रसाइँ, नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य वसन्त लामिछानेलगायतको सहभागिता थियो ।

उद्योगमा ग्यावियनका लागि आवश्यक पर्ने तारजाली उत्पादन हुने अध्यक्ष बिमला केसीले जानकारी दिइन् । “उत्पादनमूलक काम नगर्दासम्म देशमा आर्थिक उन्नति हुने सम्भावना देखिन्न्,” लामो समय राजनीतिमा सक्रिय भई उत्पादनमूलक उद्योगमा हात हाल्नुभएकी महिला नेतृ केसीले भनिन्–“त्यही सोंचेर उद्योग खोलेका हौं ।” ग्याविन तारको स्थानीय माग पूरा गर्ने र रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो,” अध्यक्ष केसीले भनिन् ।
पश्चिम नेपालमा पूर्वाधार निर्माणको काम बढ्दै गएकाले स्वतः ग्याविन तार, जालीको माग बढ्ने निश्चित छ । सडक, पुल–पुलेसा, तटबन्ध जस्ता कामहरू बढ्दै गएका छन् । त्यसलाई हेर्दा यहाँ तारजालीको माग बढ्ने निश्चित छ । यस्ता सामग्रीहरू पूर्वबाट मगाउनुभन्दा यही उत्पादन गरेर बिक्री गर्दा प्रभावकारी हुन्छ ।
उद्योगमा अत्याधुनिक मेसिनहरू जडान गरिएको छ । प्रतिघण्टा १ सय ५० देखि २ सय ५० मिटर तारजाली उत्पादन गर्ने क्षमताका मेसिन जडान गरिएको छ ।


सातामा धेरै पढिएको