कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
279

हालको मूल्य वृद्धि सम्वन्धमा, आयातित वस्तुहरूमा कारोबार मूल्यलाई मान्यता नदिइएको कारणले समेत हाल मूल्यवृद्धि हुनुको कारक तत्व हुन गएको छ तसर्थ कारोबार मूल्यलाई मान्यता दिइनुपर्ने चेम्बरको सुझाव छ । यसबाट मूल्यवृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने धारणा चेम्बरको छ ।
यसका साथै अधिक भसार मूल्यांकन, अधिक भंसार दरबन्दी, कृषि जन्य वस्तुहरूको बजार मूल्य श्रृंखलामा बिचौलियाको संलग्नताले थप जटिलता ल्याएकाले सो अन्त्य गरिनुपर्छ ।

बजार अनुगमन सम्बन्धमा, चेम्बरले सधैं चाडपर्वको बेलामा मात्र नभई नियमित प्रक्रियाका रूपमा बजार अनुगमन गर्ने कार्य गर्नुपर्ने पैरवी गर्दैै आइरहेकामा चाडपर्वमा बिभिन्न निकायहरूबाट बजार अनुगमन गर्ने कार्य हुने र अन्य बेला नियमित नहुने कारणले समेत आपूर्ति व्यवस्थापनमा थप जटिलता ल्याएको छ । हालै बजेट वक्तव्यमार्फत ल्याइएको भिसिटीएस अनिवार्य प्यान नम्बरलगायत विविध कारणले गर्दा त्यसको नतिजा स्वरुप आपूर्ति कमी हुन गई मूल्यमा वृद्धि हुन गएको देखिन्छ । आम उपभोक्तालाई प्रत्यक्ष प्रभाव पर्ने नीतिगत व्यवस्था लागू गर्नु पूर्व गहिरो अध्ययन नहुदा मुलुकवासीको सबैभन्दा ठूलो चाड दशैंको अवसरमा आम उपभोक्ताले समस्या बेहोर्नु परेको छ । बजार अनुगमन कार्य एकद्धार प्रणालीबाट मात्र हुनुपर्छ भन्दै चेम्बरले माग गरेको छ ।
ठूला गाडीको निर्वाध प्रवेश सम्बन्धमा,हाल ट्राफिक जामको कारण ६ चक्केभन्दा ठूला ट्रकहरू काठमाडौं प्रवेशमा रोक लगाइएबाट दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थामा थप समस्या उत्पन्न भई बजारमा उपभोग्य सामान सर्वसुलभ हुन नसक्ने वस्तुनिष्ठ यथार्थलाई ह्दयंगम गरी हालको अवस्थाको गांभीर्यतालाई समेत ध्यान दिई साँझ ६ बजेपछि त्यस्ता ढुवानीका साधनहरूलाई काठमाडांै प्रवेशमा निर्वाध भित्र्याउने व्यवस्था हुन जरुरी रहेको अनुरोध चेम्बरको छ ।