कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
273

स्वदेशमा उत्पादित धागोबाट बनाइएका कपडाको प्रदर्शनी बिहीबारबाट सुरु भएको छ । नेपाल धागो उत्पादक संघले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा नेपाली धागोबाट उत्पादित कपडाको प्रदर्शनी सुरु गरेको हो ।
प्रदर्शनीमा नेपालमा उत्पादित धागोबाट बनाइएका कपडा, स्वेटर, सर्टिङ सुटिङ, होजियारी, झुललगायतका वस्तु राखिएको छ । कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले बन्द अवस्थामा रहेको उद्योगहरू सञ्चालन गर्ने बताए । सरकारी स्वामित्वमा रहेको बुटवल धागो कारखाना र हेटौंडा कपडा कारखाना निजी क्षेत्रलाई लिजमा सञ्चालन गर्न दिनेमा सरकार सहमत भएको र मन्त्रिपरिषद्बाट पास हुने अवस्थामा रहेको बताए । खतिवडाले स्वदेशी उत्पादनमा जोड दिन भन्दै स्वदेशी उत्पादको निर्यात बढाउनुपर्ने बताए ।
नेपालमा हाल वार्षिक रूपमा करिब ४० हजार मेट्रिक टन धागो उत्पादन हुने गरेको छ । उत्पादित धागोमध्ये ८० प्रतिशतभन्दा बढी भारत र तेस्रो मुलुकमा निर्यात हुने गरेको छ । पाँच दिनसम्म चल्ने मेलामा ७४ वटा स्टल राखिएको छ ।