कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
175

संखुवासभा-करदाता सेवा कार्यालय खांदबारी, संखुवासभाले खाँदबारीका उद्योगी व्यवसायीसँग कर प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सरकारले घोषणा गरेको कतिपय करसम्बन्धी नयाँ प्रावधानका बारेमा जानकारी गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको करदाता सेवा कार्यालय खाँदबारी संखुवासभाले जनाएको छ ।
नयाँ कर नीतिबारे उद्योगी व्यवसायीमा अन्योल हुँदा बैकिंग कारोबार गर्न समेत समस्या भएको भन्दै संखुवासभा उद्योग वाणिज्य संघले बैंक तथा वितीय संस्थासँग अन्तरक्रिया आयोजना गरेको थियो ।

सरकारले ल्याएको नयाँ कर नीतिबारे व्यवसायीहरुमा अलमल नहोस् भनेर छलफल आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यले बताए ।
उद्योगी व्यवसायी र करदाता सेवा कार्यालयबीच ग्रामीण स्तरसम्म पुग्ने गरी कर सम्बन्धी प्रशिक्षण आवश्यक भएको संखुवासभा उद्योग वाणिज्य संघका उपाध्यक्ष डेगराज बस्नेतले बताए ।
संखुवासभा जिल्लाको मुख्य व्यापारिक केन्द्र खांदबारीका आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता रहेका करदाताहरुलाई लक्षित गरी सञ्चालन गरिएको अन्तरक्रियामा आयकर निर्देशिकामा भएका नयाँ व्यवस्थाका बारेमा प्रशिक्षण दिइएको करदाता सेवा कार्यालय खाँदबारीले जनाएको छ ।