कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
250

म्याग्दीस्थित बेनी नगरपालिका वडा नं. ५ स्थित बगुवखोला नजिक अज्ञात समूहबाट तीनवटा स्काभेटरमा आगजनी गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ । महासंघका अनुसार निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बीएन कन्स्ट्रक्सन प्रा.लि.का प्रबन्ध निर्देशक नारायणघर्ती क्षेत्रीको स्वामित्वमा रहेका ती स्काभेटरमा भदौ २६ गते आगजनी गरिएको थियो ।
देश निर्माणमा होमिएका व्यवसायीहरुलाई आतंकित पारी पेशाबाटै पलायन गर्ने कुचेष्टाका साथ भएको आगजनीको घटनामा संलग्न दोषीलाई तत्काल कानूनी कठघरामा ल्याई आवश्यक कार्वाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ ।

‘व्यवसायी र तिनका उपकरणको सुरक्षाको सवालमा महासंघले राज्यका सरोकारवाला निकाय सबैको पटकपटक ध्यानाकर्षण गराइरहेको सन्दर्भमा त्यस्ता घटनामा कमी नआउनु ठूलो चिन्ताको विषय हो’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देशभरका निर्माण व्यवसायीहरु वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार रुप दिन विभिन्न प्रतिकूलताका बीच अहोरात्र विकास निर्माणको लागि आफ्नो कार्य क्षेत्रमा खटिएको विज्ञप्तिमा उल्लेख छ । पूर्णव्यवसायी मैत्री कानून तथा निर्माण सामग्रीको अभाव, महंगी, चन्दा आतंक, सरकारी निकायबीचको समन्वयमा कठिनाई लगायतका समस्यासँग जुध्दै देशभरका व्यवसायीहरु कार्य क्षेत्रमा खटिएको अवस्थामा व्यवसायी र उनीहरुको उपकरणको सुरक्षामा चरम लापरवाही देखिएको महासंघले जनाएको छ ।
घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । भविष्यमा यस्तो अपराधिक घटना दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि महासंघले सरकार समक्ष अनुरोध गरेको छ ।