कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६
235

विराटनगर-सरकारले दीर्घकालीन योजना नबनाएकै कारण कृषि क्षेत्रको विकास हुन नसकेको पूर्वका उद्योगी व्यवसायीहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) बीच कृषिमा लगानीका सम्भाव्यता र हालसम्म महासंघले गरेका गतिविधिका विषयमा आयोजित छलफलमा उद्योगी व्यवसायीहरूले सरकारको नीतिकै कारण कृषिप्रतिको आकर्षण घट्दै गएको दाबी गरे । महासंघका केन्द्रीय सदस्यसमेत रहेका उद्योगी अविनाश बोहराले कृषि पेशाप्रति आकर्षण कम हुनुमा सरकारको दोष रहेको बताए । उनले सरकारले कृषिको दीर्घकालीन योजना तर्जुमा नगरेकाले कृषकहरू पलायन हुँदै गएको दाबी गरे ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष समेत रहेका बोहराले कृषि व्यवसायमा अति आवश्यक भौतिक संरचनाहरू सडक, सिंचाइलगायतको निर्माण गर्नुपर्नेमा जोड दिए ।

सडक अभावका कारण पहाडी र ग्रामीण क्षेत्रमा उत्पादित वस्तु बजारसम्म ल्याउन समस्या हुने गरेको उनको भनाइ थियो । “सडक अभावकै कारण पहाडमा उत्पादन हुने सुन्तला, दूध, तरकारीलगायतका वस्तु सहरसम्म ल्याउन समस्या छ,” उनले भने, “यसतर्फ सरकारको ध्यान गएको देखिँदैन । पहाडी क्षेत्रमै दुग्ध उद्योगहरू सञ्चालनमा ल्याउन सके पहाडमा उत्पादन भएको दूध फ्याल्नुपर्ने थिएन ।” अनुदान, पर्याप्त सिंचाइ, मल, बिउलगायत समयमै सहज रुपमा उपलब्ध गराउन सके कृषिप्रति आकर्षण बढ्ने उनको भनाइ थियो ।
महासंघका कोषाध्यक्ष रमेश राठीले बिचौलियाका कारण कृषकहरू मारमा पर्ने गरेको बताए । महासंघले कृषि उत्पादन वृद्धि र कृषिप्रतिको आकर्षण बढाउन प्रदेश–१ विभिन्न जिल्लामा पुगेर छलफल गरिरहेको उल्लेख गरे ।
सरकारले अघि सारेका योजनालाई कागजमा मात्रै सीमित नगरी कार्यान्वयन गर्नुपर्नेमा राठीले जोड दिए । महासंघका सदस्य रविन दाहालले पनि कृषि उत्पादन वृद्धि नगरेसम्म व्यापार घाटा कम नहुने जिकिर गरे । कार्यक्रममा स्विस राजदूतावासकी प्रथम सचिव कोर्ली ब्लुनियरले नेपालमा लगानीका धेरै अवसरहरू भएको बताइन् । उनले विदेशी लगानी भित्र्याउन सम्बन्धित निकायमा पहल गर्नुका साथै प्रदेश–१ मा लगानी सम्मेलन गर्न आवश्यकता रहेका सुझाव दिइन् ।
सहजका टिम मेनेजर पदम भण्डारी, एसडीसीकी सिनियर प्रोग्राम अफिसर यमुजा घले, सहजका टिम लिडर जीवी बन्जारा, सेक्टर मेनेजर रीना श्रेष्ठ, कन्सलटेन्ट विष्णु काफ्ले, महासंघका सदस्य श्रवण अग्रवाल, कार्यकारी निर्देशक राधारमण भण्डारी, संयोजक सञ्जित रिजाललगायतले आ–आफ्ना धारणा राखे ।