कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६
273

भरतपुर-घरधनी र घरबहालमा व्यवसाय चलाउँदै आउनेबीचको सम्बन्ध सुमधुर हुन सकेको पाइँदैन । २०७४ सालदेखि हालसम्म ५१ वटा उजुरीहरु नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनमा परेका छन् । ‘सम्झौता पत्रविनै बहालमा बसेका व्यवसायी धेरै समस्यमा परेका छन्’, मञ्चका विवाद समाधान उपसमिति संयोजक दीपककुमार उप्रेतीले भने, ‘८–१० वर्षदेखि चल्दै आएको व्यवसाय छाड्नुपर्ने स्थिति आएको छ ।’
उनका अनुसार सम्झौता गरेर घरभाडामा बसेपनि घरधनीले २ वर्ष नहुँदै घरखाली गर्न चेतावनीसमेत दिने गरेका छन् ।

मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ९ मा घर भाडामा दिँदा बढीमा ५ वर्षसम्मका लागि सम्झौता गर्न सकिने व्यवस्था छ । बहाल अवधि सकिएपनि आपति सहमतिमा अवधि पटक पटक थप गर्न सकिनेछ । मासिक २० हजार रुपैयाँसम्मको घर बहाल लिने व्यक्तिसँग सम्झौता अनिवार्य नचाहिने उल्लेख छ । सम्झौतामा बहाल बस्ने व्यक्तिको फोटोसमेत टाँस्नुपर्नेछ ।
औद्योगिक वा व्यवसायिक प्रयोजनमा घर बहालमा लिने व्यक्तिले घरको बीमा गराउनुपर्ने व्यवस्था छ । ‘व्यवसायीलाई कम्तिमा ३ वर्ष, आवासीय बसोबास गर्नेलाई ३ महिना अगाडी पूर्वसूचना नदिई हटाउन नपाउने नीतिगत व्यवस्थाको माग गरेका छौँ’, मञ्चका महासचिव ख्यामनारायण पराजुलीले भने, ‘घरधनीले चाहेकै बेला हटाउन सक्ने अवस्था छ, यो सुधार हुनुपर्छ ।’