घनश्याम पौडेल
मंगलबार, भदौ २४, २०७६
195

अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल नरपानीमा ९ करोडको लगानीमा स्तरीय रिसोर्ट सञ्चालन भएको छ । नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीमा आएका पर्यटकहरूलाई नरपानीको मनोरम वातावरणमा घुमाउने उद्देश्यसहित करोडौको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याईएको हो । जिल्लामा रहेका ५६ जनाले शेयर लगानी गरी सञ्चालनमा आएको रिसोर्टमा भिड्भाड् रहेको सञ्चालकहरूले बताएका छन् । सुपादेउराली मन्दिरको दर्शन गर्नका लागी आउँने आन्तरिक तथा बाहृय पर्यटकहरू अघिल्लो दिन नै रिसोर्टमा बसी, अर्को दिन सुपादेउराली मन्दिरको दर्शन गर्न जाने गरेको पाइन्छ ।
“जिल्लामै सुविधासम्पन्न रिसोर्ट सञ्चालन गरेका छौँ, यहाँ रिसोर्ट सञ्चालन भएपछि सुपादेउरालीमा आउँने पर्यटकलाई पनि सहज भएको छ, गर्मी यामको समयमा चिसो सित्तलताका लागी यहाँ राम्रो ठाउँ मानिन्छ,” सञ्चालक सदस्य गोपाल पौडेलले भने, “नरपानीको चिसो हावापानीमा पर्यटकहरू रमाउँदै एक दुई दिन नरपानी बसेर, जिल्लाका अन्य धार्मिक तथा पर्यटकिय स्थलहरूको अवलोकन गराउँन सके मात्र फड्को मार्न सकिन्छ ।”

रिसोर्ट सञ्चालनका लागी ५४ जना युवा आवद्ध छन् । यो व्यवसाय सञ्चालन सँगै युवालाई रोजगार दिएर स्वदेशमै टिकाउँने प्रयास पनि भएको अर्का सञ्चालक सदस्य प्रेमप्रसाद मरासिनीले भने । देशकै महत्वपुर्ण धार्मिक स्थल सुपादेउँराली मन्दिरमा आउने पर्यटकलाई खाना, बस्नका लागि राम्रो व्यवस्था नहुँदा निकै असुविधा भएकाले जिल्लाकै ठूलो रिसोर्ट निर्माण गरिएको छ ।
कुल २२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टबाट अग्ला–अग्ला हिमशृंखला र मनमोहक प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । करिब २५० जना अट्ने कन्फेक्सनल हल, १०० जना अट्ने क्षमताको रेस्टुरेन्ट भएको रिसोर्ट सुविधासम्पन्न बनाइएको छ । रिसोर्टमा स्थानीय अर्गा्निक खानासहितका परिकारहरू पाइन्छन् ।
स्थानीय युवाहरूको यो सक्रियताले एकातिर सुपादेउराली अवलोकन गर्न आएका पर्यटकहरू सुविधासम्पन्न तरिकाले बस्न पाउनेछन् भने अर्कोतर यसले अरुहरूलाई पनि स्वदेशमै केही गरौं भन्नेतर्फ उत्प्रेरित गर्न सहयोग गरेको छ । स्वदेशमा काम नभएको र काम नपाइएको भन्दै हजारौंको संख्यामा विदेशिएका युवालाई सन्देश दिने उद्देश्यले उनीहरूले सुपादेउराली रिसोर्ट खोलेको बताउँछन् । जिल्लामा युवाहरू मिलेर यस्तै व्यवसायमुलक क्षेत्रमा लाग्ने हो, भने युवाहरूले रोजगार पाउँनेछन् । जिल्लामा रिसोर्ट, होमस्टे सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकहरू भिœयाउन सकेमा जिल्लाका युवाहरूले रोजगार पाउनेछन् ।