कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
199

बागलुङ-गण्डकी प्रदेश मातहत रहने गरी जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको छ । कार्यालयको शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरे ।
सो अवसरमा मन्त्री लम्सालले उद्योगको विकासबिना मुलुकको समृद्धि सम्भव नभएको बताए । ‘उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि उद्योगको विकास हुन आवश्यक छ’ उनले भने, ‘प्रदेश सरकारले पनि उद्योगमा विशेष जोड दिएको छ ।’

उनले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापनाका लागि प्रारम्भिक तयारी अघि बढेको उल्लेख गरे । ‘४० वटा स्थानीय तहले पूर्वसम्भाव्यता अध्ययन गरी मन्त्रालयमा प्रस्ताव पठाइसक्नुभएको छ’, मन्त्री लम्सालले भने ।
स्थानीय उत्पादनको व्यवसायीकरणमा जोड दिँदै उनले साना तथा लघु उद्योगको संरक्षण र क्षमता विकासमा प्रदेश सरकारले सघाउने बताए । सोही अवसरमा उनले केही समयपछि पुरानो वन ऐन बदलिने बताए । ‘पहिले वन संरक्षणमा हामी बढी केन्द्रित थियौँ, अब बुद्धिमतापूर्ण सदुपयोगको नीति बन्छ ।’
कार्यालय प्रमुख गोमादेवी शर्माले कार्यालयबाट उद्योग दर्ता, नवीकरणलगायतका सेवा प्रदान हुने जानकारी दिइन् । उद्योगको अनुगमन, नियमनसमेत कार्यालयबाटै हुनेछ । प्रदेशका ११ वटै जिल्लामा कार्यालय स्थापना गरिने मन्त्रालयले जनाएको छ । यसअघि नवलपुर जिल्लामा कार्यालय स्थापना भइसकेको छ । मुलुक संघीय संरचनामा गएपछि खारेज भएको तत्कालीन घरेलु तथा साना उद्योग विकास समितिलाई घरेलु तथा साना उद्योग कार्यालयको रुपमा स्थापना गरिएको हो ।