कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६
253

मानव संशाधन समाज नेपालले वार्षिक रुपमा प्रदान गर्ने एचआर म्यानेजर अफ दि ईयर यो वर्ष डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरी घोषित भएका छन् । मानव संशाधन समाज नेपालद्वारा आयोजित आठौं राष्ट्रिय मानव सशसाधन सम्मेलन २०१९ को अवसर पारेर डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरीलाई ‘एचआर म्यानेजर अफ दि ईयर’ अवार्ड दिइएको हो ।
उक्त आठौं राष्ट्रिय मानव संशाधन सम्मेलन उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले विश्व बजारमा बिक्न सक्ने किसिमको श्रम र जनशक्ति तयार गर्नुपर्ने बताए । उनले श्रम बजारको आवश्यकताअनुसार श्रम विकास गर्नुपर्ने नत्र कतै काम नपाउने अवस्था आउन सक्ने स्पष्ट पारे । “मानव संशाधन विकासको योजनाका साथ अगाडि बढ्नुपर्ने छ, विश्व बजारमा देखिएको तिव्रताअनुसार अगाडि बढ्न सक्नुपर्छ,” मन्त्री बिष्टले भने ।

उनले मानव संशाधन कानुन हेरिरहेको जानकारी दिँदै सरकारले स्थानीय तहमा पनि सिपमूलक जनशक्ति तयार पार्ने योजना लिएको बताए । “सरकारले स्थानिय तहमा सिपयुक्त जनशक्ति उत्पादन गर्ने निर्णय गरेको छ, जसले हाम्रो आवश्यकतालाई पूरा गर्दछ । नयाँ शिक्षा नीतिबाट पनि मानव संशाधनको सम्बोधन गर्ने प्रयास हुनेछ,” मन्त्री बिष्टले भने । उनले अहिलेको अवस्थामा जनशक्ति, प्रकृया र प्रविधिलाई साथसाथै लान सके मात्र फाइदा हुने बताए ।
कार्यक्रममा मानव संशाधन समाज नेपालका अध्यक्ष मोहन ओझाले अहिलेसम्म नेपालमा मानव संशाधनलाई महत्व नदिइएको र सिपयुक्त जनशक्तिको अभाव देखिएको बताए । उनले देशभित्र मानव संशाधनको विकास गर्ने हो भने ‘मानव संशाधन मन्त्रालय’ गठन गर्न समेत माग गरे ।
कार्यक्रममा सार्वजनिक गरिएको नेपाल स्कील रिपोर्टका प्रमुख अनुसन्धान संयोजक प्रोफेसर डा. मोहन दास मानन्धरले नेपालमा दक्ष र सिप दिने रणनीति नै कमजोर भएको बताए । उनले नेपालमा आर्थिक विकास गर्नका लागि जमिन, उत्पादन, पूँजी र श्रमको अवरोध रहेको भन्दै सबैभन्दा कमजोर क्षेत्र श्रम रहेको दाबी गरे ।
सो प्रारम्भिक रिपोर्टमा नेपालका जनशक्तिलाई दिईएको मानव संशाधनको सिप र आवश्यक भएको सिपबीचको भिन्नता उल्लेख गरिएको जानकारी उनले दिए ।
‘अपस्किलिङ एण्ड रिस्किलिङ एचआर’ मुख्य नारा रहेको एक दिने सम्मेलनमा नेपालका विभिन्न संघसंस्थामा कार्यरत मानव संशाधन अधिकृत, व्यावसायिक व्यक्तित्वहरु, ट्रेनिङ्ग म्यानेजर, प्रमुख कार्यकारी अधिकृतहरु, निर्देशकहरु, एचआर प्रोफेसनल लगायतको सहभागिता थियो ।
स्वदेश र विदेशका गरी करिब २५० एचआर विज्ञ, व्यवस्थापन विज्ञहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक, वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, गैरसरकारी संस्थाहरु, उत्पादनमूल्यक कम्पनीहरु, सूचना प्रविधि, पूर्वाधार, बीमा, निर्माण र परामर्शको क्षेत्रबाट सहभागिता रहेको थियो ।