कारोबार संवाददाता
सोमवार, भदौ २३, २०७६
208

दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जनाएको छ ।
चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको र अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको पनि आयोजकले बताए । यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ सञ्चालन हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म चल्नेछ ।

एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफरसमेत रहने आयोजकले जनाएको छ । घरायसी प्रयोजनका सम्पूर्ण सामग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् ।
इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टका अनुसार छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । एक्स्पोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ ।
साथै, स्टक क्लियरेन्स मेलासँगै अलग्गै प्रदर्शनीस्थलमा नेपालमा उत्पादित धागो तथा कपडाको एक्स्पो पनि सञ्चालन हुनेछ । नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो २०१९ लाई नेपाल धागो उत्पादक संघले आयोजना गरेको हो । यो मेलाको व्यवस्थापन पनि इभेण्ट सोलुसन प्रालिले गर्नेछ । मेलाको सबै तयारी पूरा भएको छ । दुवै मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ ।
“दशैंको सपिङ गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं,” इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए ।