कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
231

विराटनगर- मोरङ व्यापार संघको नयाँ नेतृत्वले अघि सारेको १० हजार बिरुवा रोप्ने कार्ययोजनाअन्तर्गत मोरङको थलाहास्थित नेपाली सेनाको व्यारेकमा १ हजार बिरुवा रोपेको छ । प्रकाश मुन्दडा नेतृत्वको समितिले सूर्यदल गण परिसरमा विभिन्न जातका फलफूलसहित विरुवा रोपेको हो ।
एशियन थाई फुड्स प्रालिको सहयोगमा विरुवा रोपिएको अध्यक्ष मुन्दडाले जानकारी गराए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत संघले पहिलो चरणमा १ हजार विरुवा रोपेको जानकारी दिए । उनका अनुसार आगामी दिनमा पनि अन्य स्थानमा थप विरुवा रोपिनेछ । “उद्योग व्यवसायको प्रवद्र्धनका क्रियाकलापहरूमा सक्रिय रहँदै वातावरण एवं पर्यावरण संरक्षण गर्नु पनि सबैको दायित्व रहेको हो,” उनले भने, “रोपिएका बोट बिरुवाहरूको संरक्षण गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।” प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, नेपाल प्रहरीका डिआईजी ठाकुरप्रसाद ज्ञवाली, संघका अध्यक्ष मुन्दडा, पूर्वअध्यक्ष महेश जाजु, शंकरलाल अग्रवाल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, गण प्रमुख सेनानी रघुनाथ पौडेललगायतले वृक्षारोपण गरेका थिए ।
कार्यक्रमको सहयोगीको रुपमा रहेको एशियन थाई फुड्स प्रालिका प्रबन्ध निर्देशक तथा संघका पूर्वअध्यक्ष महेश जाजूले यस किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि आफूलगायत आफ्नो संस्थाले पूर्ण सहयोग गर्ने बताए । संघको प्रथम चरणको वृक्षारोपण कार्यक्रममा आफ्नो संस्थाको तर्फबाट ३ सय फलफूलका बिरुवा हस्तारन्तरण गरेका थिए ।