मनिषा चम्लागाईँ
सोमवार, भदौ २, २०७६
420

झापाको बिर्तामोडमा कपडा बैंक स्थापना भएको छ । महिला उद्यमी संघ झापा नेपाल, रोटरी क्लब अफ बिर्तामोड र देबी पञ्चकन्या मर्निङ वाक ग्रुपको अगुवाईमा बिर्तामोडमा कपडा बैंक स्थापना भएको हो ।
पुराना कपडा संकलन तथा वितरण गर्ने उदेश्यले कपडा बैंक स्थापना गरिएको कार्यक्रमका संयोजक सुरेशकुमार वंशलले पत्रकार सम्मेलन गरी जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका मानिसलाई कपडा उपलब्ध गराउने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको वंशलले बताए ।

घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी कपडा बैंकमा प्रदान गर्न उनले आह्वान समेत गरेका छन् । विपन्न समुदायका नागरिकलाई निःशुल्क वितरण गरिने बताइएको छ । ‘मानवताको सेवा नै मनुष्य जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नाराका साथ कपडा बैंक स्थापना गरिएको उनीहरुको भनाई छ ।
महिला उद्यमी संघ झापाका अध्यक्ष गोमा भट्टराईले घरमा प्रयोग नभएका कपडा निःशुल्क रुपमा बैंकको वितरण कक्षमा उपलब्ध गराइदिन आग्रह गरेकी छन् । विशेष गरेर जाडो मौसमनजिकिंदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट ब्यहोनु नपरोस् भन्ने उद्देश्य रहेको भट्टराई बताउँछिन् ।
कपडा बैंकको उद्घाटन भदौ ३ गते एक कार्यक्रमको आयोजना गरी गरिने जनाइएको छ । कार्यक्रममा उद्योग बाणिज्य संघ बिर्तामोडमा अध्यक्ष कुमार भट्टराई, देवी पञ्चकन्या मनिङ वाक ग्रुपका अध्यक्ष मदनगोपाल सुब्बा, रोटरी क्लब अफ बिर्तामोडकी अध्यक्ष निकिता गिरी लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।