कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
508

बागलुङ- उन्नत जातका कुखुरापालन बढेको बेला यहाँका एक किसानले भने स्थानीय जातको कुखुराको व्यावसायिकपालन गरिरहनुभएको छ । बागलुङ नगरपालिका–३ रातामाटाका बैकुण्ठ सापकोटाले ‘साकिने’ जातको कुखुरापालनबाट राम्रो आम्दानी गर्दै आएको छ ।सापकोटाले गत माघदेखि व्यावसायिक कुखुरापालन सुरु गरेका थिए । उहाँको ‘फार्म’ मा अहिले तीन सयभन्दा बढी स्थानीय जातका कुखुरा छन् । चार महीनाको अवधिमा रु एक लाखभन्दा बढीको भाले बिक्री गरेको सापकोटाको भनाइ छ । “मासुसँगै चल्ला र अण्डाको पनि उत्तिकै माग छ,” उनले भने, “उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।”
काठमाडौं, हेटौंडा, कपिलवस्तु र पोखराका ‘ह्याचरी’ बाट अण्डाको माग आउने गरेको छ । घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको संख्या पनि बढ्दो छ ।“अहिले गाउँ–गाउँबाट पनि चल्लाको माग आइरहेको छ,” सापकोटाले भने, “स्थानीय जातका कुखुरापालनमा बिस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । सदरमुकाम बागलुङ बजारमा होटल, रेष्टुराँमै मासुका रूपमा कुखुरा बढी खपत हुन्छ ।

अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु सात सयमा बिक्री हुने गरेको सापकोटाको भनाइ थियो । अण्डा १५ रुपैयाँ र एक साताको चल्ला १ सय २५ रुपैयाँमा बिक्री हुँदै आएको छ । कुखुराले दैनिक १ सय ५० भन्दा बढी अण्डा दिन्छ ।स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने भएको हुँदा पाँच-छ महिनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई जस्तो नियमित खोप, औषधि खुवाउनु नपर्ने सापकोटाको भनाइ छ । “बारीमा चर्छन्, घरकै गहुँ, मकै, भुसको दाना खान्छन्”, सापकोटाले भन्नुभयो । कुखुरापालनबाट मासिक रु ३५ देखि ४० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल हुनुभएको छ । स्थानीय जातको कुखुरापालनलाई थप व्यवस्थित र विस्तार गर्ने योजना उनको छ । कुखुरापालनका लागि शुरुमा उहाँले रु चार लाख लगानी गरेका थिए ।
काठमाडौँबाट स्थानीय जातको कुखुराको चल्ला ल्याएर व्यावसायिक रूपमा पाल्न शुरु गरेको सापकोटाले बताए ।‘सापकोटा कृषि फार्म’ सञ्चालनमा ल्याउनुभएका उनले व्यावसायिक कुखुरापालनसँगै बाख्रापालन र तरकारी खेती पनि गर्दै आउनुभएको छ । ‘फार्म’ मा अहिले १६ वटा बाख्रा छन् । तीन रोपनी क्षेत्रफलमा तरकारी खेती छ । पढाइमा स्नातक सापकोटाको तरकारी खेती भने पुरानै हो ।
“नयाँ सीप र प्रविधिअनुसार तरकारी खेती गरिरहेको छु”, उनले भने, “दुइटा हाइटेक टनेलमा तरकारी खेती छ ।”सापकोटालाई कृषि पेशामा श्रीमती जमुना, आमा लक्ष्मी र बुबा बद्रीले पनि सघाउँदै आउनुभएको छ । कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित व्यावसायिक कृषिमा लागेको सापकोटाको भनाइ छ । व्यवसाय बढाएपछि अन्य व्यक्तिलाई पनि रोजगारी दिन सकिने उनले योजना बनाएका छन् । सदरमुकाम नजिकै रहेकाले कुखुरा र अन्य कृषि उत्पादन बेच्न कुनै समस्या छैन । 

रामबहादुर थापा