कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
369

म्याग्दी-म्याग्दीमा पछिल्लो एक वर्षमा २ सय बढी घरेलु तथा साना उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७५-७६ मा २०८ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।
यसैगरी सोही अवधिमा १३४ वटा व्यावसायिक फर्म दर्ता भएको कार्यालयकी उद्यम विकास सहजकर्ता सीता कुँवरले जानकारी दिइन् । आर्थिक वर्ष २०७४-७५ मा २८४ वटा उद्योग र १ सय १३ वटा वाणिज्य फर्म दर्ता भएका थिए ।

स्थानीय तहले करको दायरामा ल्याउन पहल गरेको, बजार अनुगमनको प्रभाव र व्यवसाय गर्नेहरुसमेत सचेत भएकाले नयाँ आर्थिक वर्ष सुरु भएयता दर्ता हुने क्रम बढेको कार्यालयका तथ्याङ्क सहायक सन्तोष ढुंगानाले बताए ।
साउन १ गतेदेखि यता ६९ वाणिज्य फर्म र २३ वटा उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा १३ वटा उद्योग र ३१ वटा वाणिज्य फर्म खारेज भएका छन् ।
२ सय ५० वटा उद्योग र ४९१ वाणिज्य फर्म नवीकरण भएको छ । उद्योग तथा वाणिज्य फर्म दर्ता र नवीकरणबापत ४७ लाख ३० हजार ८५० रुपैयाँ राजस्व संकलन भएको छ ।
अघिल्लो वर्ष ३२ लाख ७७ हजार ७९५ रुपैया राजस्व संकलन गरेको थियो । जिल्लाभर एक हजार ८४६ वाणिज्य फर्म र २ हजार ४४ उद्योग सञ्चालनमा छन् । पछिल्लो समय कृषि, पशुपालन, वनपैदावार, होटल र सेवामुलक उद्योग दर्ता बढेको छ ।
बिमा, बैंक कर्जा र अनुदान सुविधाका लागि व्यवसाय दर्ता भएको हुनुपर्ने नीतिगत व्यवस्था छ । वर्षांैदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हँुदै आएका उद्योग तथा फर्महरुसमेत दर्ता हुन थालेका कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

धीरन खत्री