कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६
301

विराटनगर- फुजिमा आयल कम्पनी २५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २५ औं वर्ष प्रवेशको अवसरमा रजत जयन्ती मनाएको छ । कार्यक्रममा कम्पनीले संस्थापक अध्यक्ष माधवप्रसाद कोइराला र संस्थापक आजात खानलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रदेश–१ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । त्यस्तै कम्पनीमा २५ वर्षदेखि कार्यरत कर्मचारी, विक्रेतालगायतलाई समेत सम्मान गरिएको थियो । प्रदेश प्रमुख तुम्बाहाङले रजत जयन्ती स्मारिकासमेत विमोचन गरे । कार्यक्रममा उनले विगतमा बैंक तथा वित्तीय संस्था र पूर्वाधारहरूकोे विकास नभएकै कारण स्वदेशी उत्पादनले प्राथमिकता नपाएको बताए ।

उनले नेपाललाई विकासोन्मुखबाट विकसित बनाउन स्वदेशी उत्पादनमा जोड दिनुपर्नेमा जोड दिए । “स्वदेशी उत्पादन नबढाएसम्म रोजगारी सिर्जना र व्यापारघाटा कम गर्न सकिँदैन,” उनले भने । नेपाली बजारलाई विदेशी बजारको तुलनामा थप प्रतिस्पर्धात्मक बनाउन फुजिमा आयलले गरिरहेको कार्य प्रशंसनीय भएको उनको टिप्पणी थियो । कम्पनीका प्रबन्ध निर्देशक सुबोध कोइरालाले लुब्रिकेन्टसको बजारमा फुजिमा आयलले ४० प्रतिशत हिस्सा ओगटेको दाबी गरे ।
उनले अधिकांश नेपाली जनता विदेशी उत्पादनमा निर्भर रहेको अवस्थामा नेपालका लागी यो ठूलो उपलब्धि भएको बताए । उनले फुजिमाले नेपालकै पहिलो ट्रान्सफर्मरमा हाल्ने तेलसमेत उत्पादन गरेको जानकारी दिए । विगतका २५ वर्षमा कारोबार सँगसँगै नेपाली उपभोक्तामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने सोचको समेत विकास गर्दै आएको उनको भनाइ छ । उनले कम्पनीले प्रत्यक्ष रूपमा २ सयलाई रोजगारी दिएको जनाए ।
वि.सं. २०५० सालमा घरेलु उद्योगका रूपमा स्थापना भएको फुजिमा आयलले नेपाललगायत वैदेशिक बजारमा पनि आफ्नो छुट्टै स्थान बनाउन सफल भएको कम्पनीका ब्राण्ड एम्बासेडर हाँस्य कलाकार शिवहरि पौडेलले बताए । समय सँगसँगै आफूलाई अध्यावधिक गर्दै आएको फुजिमा आयलले दुबईको कम्पनीसँग सहकार्य गर्दै निरन्तर आफ्ना उत्पादनहरू बजारमा ल्याई नेपाली जनताको मन जित्न सफल भएको उनले बताए ।
कार्यक्रममा कम्पनीले ब्रान्ड एम्बासेडरसमेत रहेका हाँस्य कलाकार शिवहरि पौडेल, महानायक राजेश हमालले कम्पनीको उत्पादन गुणस्तरीय भएकै कारण उपभोक्ताले रुचाएको बताए । फुजिमा आयलले कन्ट्रोल, म्याजिक र रोयल लुब्रिकेन्टस उत्पादन गरिरहेको छ ।