कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
212

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा चिनिएको ‘आईसिटी अवार्ड’ को चौथो संस्करण यही साउन ३२ गते शनिबार सोल्टीक्राउन प्लाजामा आयोजना हुँदै । यस वर्षको आईसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरूलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपूर्ण बिनाधितो ऋण दिने जानकारी गराएको छ । राष्ट्रिय वाणिज्य बैंक आईसिटी अवार्ड–२०१९ को बैंकिङ पार्टनरका रूपमा छ । स्टार्टअप आईसिटी अवार्ड, प्रडक्ट आईसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो ।
यसैगरी आईसिटी अवार्डको इन्स्योरेन्स पार्टनरका रूपमा रहेको एसियन लाइफ इन्स्योरेन्सले सम्पूर्ण अवार्ड विजेताहरूलाई १० लाख रुपैयाँसम्मको इन्स्योरेन्स गरिदिने जानकारी गराएको छ । यस वर्ष १० वटा विधामा आईसिटी अवार्ड प्रदान गरिनेछ ।

आईसिटी अवार्ड–२०१९ सफल बनाउन २ दर्जन बढी संस्थाले सहयोग तथा सहकार्य गरेका छन । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम यस अवार्डका मुख्य सहयोगी संस्थाहरू हुन् । यसैगरी बैंकिङ पार्टनरका रूपमा राष्ट्रिय वाणिज्य बैंक, पेमेन्ट पार्टनरका रूपमा कनेक्ट आईपीएस, एजुकेसन पार्टनरका रूपमा सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी रहेका छन् । यसैगरी इन्स्योरेन्स पार्टनरका रूपमा एसियन लाइफ इन्स्योरेन्स, इन्टरनेट पार्टनरमा भायनेट कम्युनिकेसन, नेटवर्क पार्टनरमा डिजिकम र साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेज छन् ।
जेठ १, २०७६ देखि सुरु भएको आईसिटी अवार्डको तयारी साउन ३२ गते ग्रान्ड फिनालेका रूपमा समापन हुनेछ । विभिन्न ९ विधामा २ सय बढीको नोमिनेसन प्राप्त भएको अवार्डको छनोट प्रक्रियामा ११ जना जुरी र ८ जना जुरी सल्लाहकारहरूको सहभागिता छ ।
आईसिटी अवार्डमा टेक्सास कलेज, एफ वान सफ्ट, एसीसीए ग्लोबल, इन्फो डेभलपर्स, साइबरनेटिक्स, समृद्धि कलेज, वल्र्डलिंक, नेटगियर, सगरमाथा इन्जिनियरिङ कलेज, क्याब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी र भिजिट नेपाल–२०२० छन् । यसैगरी लर्निङ पार्टनरका रूपमा स्मार्टर एप, जीपीएस पार्टनर प्रमिस टु सेक्युर, प्रिन्ट पार्टनर बिटि प्रिन्टिङ, डिजिटल पार्टनर टेक्नोरियो छन् । आईसिटी अवार्ड–२०१९ को ३ विधामा उत्कृष्ट ५ को पब्लिक भोटिङ साउन १८ सम्म सञ्चालन भएको थियो भने अन्य ६ विधामा जुरी समूहले फिल्ड भिजिटसहित छनोट प्रक्रिया जारी रहेको छ ।
यसैगरी पब्लिक च्वाइस आईसिटी अवार्डका लागि एसएमएस भोटिङ जारी रहेको जनाएको छ । यस वर्ष स्टार्टअप आईसिटी अवार्ड, प्रडक्ट आईसिटी अवार्ड, पायोनियर आईसिटी अवार्ड, डिजिटल गभर्नेन्स आईसिटी अवार्ड, आन्टरप्रेनर्स आईसिटी अवार्ड र डायस्पोरा आईसिटी अवार्ड छन् । यसैगरी यस वर्ष डिजिटल एजुकेसन आईसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसिटी अवार्ड गरी दुई विधा थप गरिएको हो । साउन ३२ गते शनिबार आयोजना हुने फिनाले हिमालय एचडी, हाम्रो पात्रो, फेसबुक तथा युट्युबाट प्रत्यक्ष प्रसारणसमेत हुनेछ ।