कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
222

नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारीको क्रममा नेपाल उद्योग परिसंघबाट प्रदेश–१ मा अन्तरक्रिया कार्यक्रम गरेको छ । परिसंघबाट आगामी भदौमा काठमाडौँमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलन तेस्रोको पूर्व तयारीको क्रममा कार्यक्रम आयोजान गरेको हो ।
परिसंघले साउन २३ गते प्रदेश–१ को विराटनगरमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले परिसंघले आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन–२०१९ यस प्रदेशको पूर्वाधार विकासको सन्दर्भमा समेत एक महत्वपूर्ण एवं उत्साहजनक कार्यक्रम हुने भएकाले प्रदेश–१ बाट समेत त्यस क्षेत्रका सम्भावित परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने र आगामी दिनहरुमा यस्ता योजनाहरुलाई अझै परिस्कृत गर्दै लगिने बताए ।
उक्त अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रदेशहरुमा पूर्वाधारको सम्भावना र प्रदेश सरकारले प्राथमिकतामा राखेका योजनालाई पूर्वाधार सम्मेलनमा छलफलसहित अगाडि बढाउन परिसंघबाट समेत आवश्यक पहल गरिने उल्लेख गरे ।
यस पटकको तेस्रो पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी सबै प्रदेशहरुका पूर्वाधारको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी सम्मेलनमा गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई नेपाल पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी परिसंघबाट कार्यक्रम तय गरिएको छ ।
उक्त कार्यक्रममा प्रदेश उद्योग, पयर्टन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकरप्रसाद शर्मा तथा प्रदेश–१ का प्रमुख सचिव सुरेश अधिकारीले प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए ।