कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
346

“जनतालाई सरकार छ भन्ने अनुभूति गराउन केन्द्र, प्रदेश र स्थानीय सरकारले सहकार्य गरेर काम गर्नुपर्छ ।”

चाडपर्व नजिकिँदै गर्दा आपूर्ति व्यवस्था सहज बनाउन केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग छलफल गरेको छ । चाडपर्वको समयमा बजारमा चहलपहल बढ्ने हुँदा उपभोक्ता ठगी हुन सक्ने भन्दै केन्द्र सरकारले छलफल गरेको हो । सातै प्रदेशका वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित मन्त्री, महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुखसँग केन्द्र सरकारले छलफल गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन तीनै तहका सरकारबीच समन्वयात्मक भूमिकाको खाँचो रहेको बताए । प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागिएको मन्त्री यादवले जानकारी दिए । तीनै वटा सरकारको साझा प्रयासबाट बजारमा आपूर्ति व्यवस्था सहज बनाउन सकिने उनको भनाइ छ । “चाडपर्वमा बजारमा चहल पहल धेरै हुने गर्छ,” मन्त्री यादवले भने, “जनतालाई सरकार छ भन्ने अनुभूति गराउन केन्द्र, प्रदेश र स्थानीय सरकारले सहकार्य गरेर काम गर्नुपर्छ ।”

कार्यक्रममा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले सीमित स्रोत र साधनकाबीच उपभोक्ता अधिकारलाई संरक्षित गर्न प्रदेश सरकार क्रियाशील रहेको बताए । उनले स्थानीय सरकारलाई यथोचित अधिकार दिएर बजार व्यवस्थापनमा जिम्मेवार बनाइनुपर्ने सुझाव दिए । प्रदेश सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्ता हित संरक्षण समिति गठन गरेर निर्देशिका लागू गरिएको उनको भनाइ थियो । प्रदेशअन्तर्गतको सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति निर्माण गरी अनुगमनलाई प्रभावकारी बनाइएको उल्लेख गर्दै मन्त्री नेपालले हरेक महिना अनुगमनको प्रतिवेदन प्रदेश सरकारसमक्ष पठाउन निर्देशन दिइएको जानकारी दिए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले उपभोक्ता अधिकार स्थापित गराउन उपभोक्ता सचेतना गराउन सरकारी संरचनालाई क्रियाशिल बनाउनुपर्ने बताए । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको अभाव देखिएको भन्दै उनले जनताका अधिकारलाई केन्द्रबिन्दूमा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै, प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले संघीय सरकारअन्तर्गतको निकायले समन्वय नगर्दा आपूर्ति व्यवस्थापनमा समस्या देखिएको बताए । जनस्वास्थ्यसँग खेलबाड गर्ने गरी हुँदै आएका आपूर्ति रोक्नुपर्नेमा जोड दिँदै मन्त्री गिरीले प्रदेश सरकारले गुणस्तर परीक्षण गर्न भैरवहामा संरचना निर्माण सुरु गरिएको बताए । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले तीन तहका सरकारबीच एकीकृत समन्वयका खाँचो औँल्याउँदै सघीय सरकार मातहतका निकायले प्रदेश सरकारसँगको समन्वयमा अगाडि बढ्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्न तयार रहेको बताए । जनस्वास्थ्यमा असर पु¥याउने अखाद्य वस्तुको प्रयोगमा जनचेतना जगाउन सञ्चार माध्ययमको ठूलो भूमिका रहेको उनको भनाइ थियो ।