कारोबार संवाददाता
शुक्रवार, श्रावण ३, २०७६
287

विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशस्तरीय कृषि उद्यम केन्द्र विराटनगरमा स्थापना भएको छ । प्रदेशस्तरीय केन्द्रको प्रदेश राजधानी विराटनगरमा आयोजित कार्यक्रममा बिहीबार महासंघकी अध्यक्ष भवानी राणाले उद्घाटन गरिन् । नेपाल सरकारसँगको सहकार्यमा उद्योग वाणिज्य महासंघले विगत २८ वर्षदेखि कृषि उद्यम केन्द्र स्थापना गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । महासंघले प्रदेश–१ मा प्रदेशस्तरीय केन्द्र पहिलोपटक सञ्चालनमा ल्याएको हो । प्रदेश–१ बाट सुरु भएको उद्यम केन्द्र अन्य प्रदेशमा पनि विस्तार गरिने अध्यक्ष राणाले बताइन् । यसअघि नै प्रदेशस्तरीय महासंघ गठन भइसकेको छ । संघीयताको भावनाअनुसार उद्यम केन्द्रलाई पनि सातवटै प्रदेशमा स्थापना गर्ने योजना गरेको अध्यक्ष राणाले सुनाइन् । राणाले भनिन्, “कृषि उद्यम केन्द्रको स्थापना प्रदेश–१ बाट सुरु भएको छ । अब चाँडै नै सातवटै प्रदेशमा केन्द्र स्थापना हुन्छ ।”
कृषि तथा कृषिजन्य वस्तुहरूसँग सम्बन्धित सबै क्रियाकलापहरू केन्द्रमार्फत गरिने उनको भनाइ छ । अध्यक्ष राणाका अनुसार आपूर्ति, उत्पादन, प्रशोधन, पारवहन तथा बजार व्यवस्थापनलगायत उद्यम केन्द्रको कार्यक्षेत्रभित्र पर्दछन् । प्रदेशमा स्थापना भएको कृषि उद्यम केन्द्रको गतिविधिहरू निर्वाध रुपमा बढ्नेमा आफू आशावादी रहेको राणाले सुनाइन् । अध्यक्ष राणाले सरकारले ल्याएको कर नीति तथा भेहिकल एण्ड कन्साइनमेन्ट टे«किङ सिस्टमका विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको बताइन् । कर नीतिका विषयमा सरकारबाट सकारात्मक आश्वासन आएकाले केही दिनभित्रै समस्या समाधान हुने उनको दाबी थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले प्रदेश–१ कृषिका लागि उर्बर भूमि रहेको चर्चा गर्दै उद्यम केन्द्रले कृषिको विकासमा काम गर्नुपर्नेमा जोड दिए । प्रधानले केन्द्रको स्थापनाले प्रदेश–१ का उद्योगी, व्यवसायी, कृषकलाई सहयोग पुग्ने विचार व्यक्त गरे ।
त्यस्तै महासंघ प्रदेश–१ का अध्यक्ष नरेन्द्रकुमार खडकाले कृषि क्षेत्रमा व्यावसायिक उत्पादन, प्रशोधन, बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको संख्या वृद्धि गर्ने बताए । उनले हालको परनिर्भरताको अवस्थालाई आयात प्रतिस्पथापनका माध्यमबाट विस्तारै कम गर्दै लैजाने, ग्रामीण पर्यटन र कृषि व्यवसायलाई सँगसँगै अघि बढाई स्थानीयस्तरमै आयआर्जन र रोजगारी सिर्जना गर्दैै मौलिक पहिचान भएका स्थानीय वस्तुको उत्पादन, प्रशोधन र बजार प्रवद्र्धन गर्ने दाबी गरे । केन्द्रले आगामी दिनमा प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले प्रदेशस्तरीय कृषि उद्यम केन्द्रले १ नम्बर प्रदेशमा रहेका सबै उद्योग वाणिज्य संघहरूसँग समन्वय गरेर काम गर्ने प्रस्ट्याए । “कृषिको प्रचुर सम्भावना रहेको प्रदेश–१ मा कृषि व्यवसायका क्षेत्रहरू पहिचान गरी त्यसको विकासमा सघाउ पु¥याउने खालका योजनाहरू महासंघको प्राविधिक सहयोगमा बनाई प्रदेश सरकार र प्रदेश महासंघबाट कार्यसम्पादन गर्ने गरी काम सुरु गरिनेछ,” उपाध्यक्ष राउतले भने ।
प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ गत माघ २९ गते मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आड्बो र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबीच समझदारीपत्रमा हस्ताक्षरको थियो । त्यही समझदारीअनुसार प्रदेश–१ मा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले कृषि उद्यम केन्द्रको स्थापना गरिएको हो । कृषि उद्यम केन्द्रको सभापतिमा नरेन्द्रकुमार खडका र सदस्यमा राजेन्द्र राउत र लिलम बस्नेत रहेका छन् ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, प्रवलजंग पाण्डेलगायतले उद्यम केन्द्रको महत्वका विषयमा चर्चा गरेका थिए । सो अवसरमा प्रदेश अध्यक्ष खड्काले सरकारले ल्याएको भेहिकल एण्ड कन्साइनमेन्ट टे«किङ सिष्टम, सामाजिक सुरक्षा कोष, पारिश्रमिक भुक्तानीमा पान दर्तालगायतका विषयमा तयार गरिएको राय सुझावहरू अध्यक्ष राणालाई हस्तान्तरण गरेका थिए ।