विप्लव काफ्ले
बिहिवार, श्रावण २, २०७६
531

भरतपुर-होटल व्यवसायी संघ चितवनले ‘सुरक्षित बास’ दिने वातावरण नबिग्रान प्रहरीको ध्यानाकर्षण गराएको छ । बुधबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष शर्मिला न्यौपानेले ‘छापामार शैली’ को प्रहरी अप्रेरसनले होटल व्यवसायकै बदनाम हुन पुगेको बताइन् ।
“व्यवसायी, सेवाग्राहीलाई गरिएको धरपकड र दुव्र्यवहारको भत्र्सना गर्छौँ,” उनले भनिन्, “होटल, लजमा बसेका सबैलाई यौनकर्मीको संज्ञा दिनु गलत छ, प्रहरी प्रशासन सुध्रिनुपर्छ ।” तेस्रो पर्यटकीय गन्तव्य चितवन असुरक्षित रहेको गलत सन्देश गएकाले प्रहरीले अनावश्यक धरपकड नगर्न सुझाइन् । असार ३० गते चितवन प्रहरीले एकै दिन होटल, रेस्टुराँ, लज तथा पार्कहरूमा यौन धन्दामा लागेको आरोपमा ९७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ७६ जना सोमबार नै छुटेका थिए । २१ जना मंगलबार छुटे । यौन व्यवसायमा लागेको आरोपमा पक्राउ परेका सबै छुटेपछि प्रहरीको आलोचना बढेको छ ।

होटल व्यवसायी महासंघ नेपालका सल्लाहकार इमान्दु बरालले वर्थ डे मनाइरहेका युवतीको समूहलाई एकै कोठाबाट प्रहरीले गिरफ्तार गरेको बताए । “केही केटाकेटीसँगै बसेर खाना खाइरहेका थिए, केही युवतीहरू वर्थ डे मनाइरहेका थिए,” उनले भने, “प्रहरीले सोधपुछनै नगरी पक्राउ ग¥यो, उही दिन छाड्यो ।” उनले पैसाको लेनदेनमा हुने यौन सम्बन्धलाई निरुत्साहित गर्न व्यवसायी तयार रहेको बताए । “बारम्बार केटा वा केटी साथी फेरेर आउने, नाता सम्बन्ध खुलाउन नसक्नेलाई नजिकको प्रहरीमा खबर दिने काम हँुदै आएको थियो,” उनले भने, “कैयनमा सिसीटिभीसमेत जडान गरेका छौं, विकृति अन्त्य गर्ने हाम्रो पनि चाहना हो । तर, त्रसिद र बदनाम गर्ने शैलीको छापा रोकिनुपर्छ ।” उनले प्रहरीलाई शंका लागेमा इन्ट्री बुक अध्ययन गरेर खानतलासी गर्न सुझाए । बन्द कोठाभित्रकालाई जवरजस्ती पक्राउ गरिनु गलत भएको बताए ।
पूर्वअध्यक्ष डासिराम ढकालले पेशेवर यौनकर्मीलाई पहिचान नगरी सबै होटल व्यवसायकै बदनाम गरिनु गलत भएको बताए । “यौन व्यवसायी भनिएका सबै छुटेका छन्, सबै निर्दोष देखिए”, उनले भने, “प्रहरीले अप्रेरसन शैली सुधार्नैपर्छ, अध्ययन अनुसन्धानबिनको अप्रेरसनले चितवनलाई बदनाम गरिनुहुदैन ।” चितवन उद्योघ संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले प्रहरीले होटल व्यवसायीमाथि ज्यादती गरेको बताए । “विकास हुँदै गरेका सेवामूलक व्यवसायलाई घाँटी निमोठ्ने प्रयास भएको छ”, उनले भने, “बिचलित नहुनु, संघले घटनाको विरोधमा एक्यबद्धता जनाउँछ ।” होटल व्यवसायी सुभाष प्रधानले आपसी समझदारीमा होटल, लजको बन्द कोठामा बसेर यौनसम्बन्ध राखिनु कुनै गलत नहुने जिकिर गरे । “प्रलोभनमा, झुक्काएर यौनसम्बन्ध पो गर्नुभएन”, उनले भने, “समझदारीमा हुने यौनसम्बन्ध अवैध हुँदैन, होटल, लजका बन्द कोठामा यौनसम्बन्ध भएको छ–छैन हेर्नु गलत हो ।” अपराधी, गैरकानुनी काममा संलग्न, योजना बनाउन लागेको व्यक्ति बसेको सूचना पाएमा प्रहरीले इन्ट्री बुक हेरेर अनुगमन गर्न सक्ने बताए । “३० गते प्रहरीको अनुगमन गुण्डागर्दी शैलीको देखियो,” उनले भने, “प्रहरी सच्चिनुपर्छ ।”
उद्योग वाणिज्य महासंघ प्रदेश–३ का उपाध्यक्ष राजन गौतमले व्यवसायीलाई त्रसिद बनाउने गरी गरिएको अनुगमन शैली ठिक नभएको बताए । “व्यवसायलाई बदनाम गरिएको छ, यो दोहोरिनुहुँदैन”, उनले भने, “गलत काम रोक्न सबैलाई त्रसाएर हुँदैन, गलत गर्नेलाई कारबाही गरिनुपर्छ ।” होटल व्यवसायी संघका कानुनी सल्लाहकार अधिवक्ता गोपीलाल देवकोटाले स्वतन्त्रपूर्वक बसेका व्यक्तिलाई ‘डिष्ट्रब’ गर्ने अधिकार राज्यलाई नभएको बताए । “बन्द कोठाभित्रको गतिविधि छानबिन गर्ने अधिकार कसैलाई छैन”, उनले भने, “तर, कानुन उल्लंघन भएको छ वा अपराध हुनसक्ने स्थितिमा प्रहरीले अप्रेरसन चलाउन सक्छ ।” उनले कानुनको प्रयोग गर्दा अरुको हकमा आघात पुग्ने गरी कानुन उल्लंघन गर्न नहुने बताए । उनले पैसामा यौनधन्दामा लगाउने, इच्छाविपीरत, डर, त्रासमा पारेर त्यस्ता गतिविधिमा लगाउने काम भएमा कारबाही गर्न प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।
सरकारी कार्यालयसहित सरोकारवाला १३ संघ–संस्थाले हस्ताक्षर सहितको १९ बुँदे आचारसंहिता २०७२ सालमा जारी भएको थियो । सामाजिक अपराध, विकृति र विसंगति अन्त्य गर्ने गरी आचारसंहिता जारी भएको थियो । होटल, लज, रेस्टुराँमा अधिकांशमा आचारसंहिताका फ्लेक्स राखिएका छन् । आचारसंहिताको बुँदा नम्बर ९ मा उमेर पूरा भएका व्यक्तिले नाता सम्बन्ध खुलाई आपसी समझदारीमा गेष्टहाउस, लजमासँगै बस्न पाउने, बुँदा १० मा होटल सञ्चालकले नाता परिचय खुल्ने विवरण, सम्पर्क नम्बर, सवारीसाधन भएमा त्यसको पनि नम्बर इन्ट्री बुकमा राख्नुपर्ने उल्लेख छ ।
बुँदा १४ मा कम्तीमा अधिकृत स्तरको प्रहरी कमान्डमा चेकजाँच गर्न सकिने र अनुगमन टोलीले काउन्टरको इन्ट्री बुक हेरेर शंका लागेका कोठामा सम्बन्धित व्यवसायीको प्रतिनिधिको रोहरबा खानतलासी गर्न सक्ने र थपअनुसन्धान गर्नुपर्ने देखिएमा प्रहरी कार्यालय लैजान सकिने उल्लेख छ । सो आचारसंहितामा चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखले समेत हस्ताक्षर गरेका थिए । ३० गतेको प्रहरी अप्रेरसन घटनाको विरोधमा उद्योग वाणिज्य संघ चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, चेम्बर अफ कर्मस चितवन, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहाले एक्यबद्धता जनाएका छन् ।