नीरज पिठाकोटे
बिहिवार, श्रावण २, २०७६
213

वीरगन्जको राजस्व योगदानमा मुख्य भूमिका रहेको मदिरा उद्योग एसियन डिस्टिलरी प्रालिकाका मजदुरहरू आन्दोलनमा उत्रिएका छन् । उद्योग व्यवस्थापनले उद्योगमा कार्यरत मजदुर र कर्मचारीको संख्या कटौती गर्ने सूचना सार्वजनिक गरेपछि उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै मजदुरहरू मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । विरोधमा उत्रिएका मजदुरहरूले मंगलबार उद्योगको मूलगेटमा धर्ना दिएर प्रदर्शन गरेका छन् । उद्योगबाट उत्पादित मदिरा बिक्री नभएर उद्योग घाटामा गएको कारण देखाउँदै उद्योगले मजदुरहरूको आर्थिक भार थेग्न नसक्ने अवस्था सिर्जना भएपछि उद्योगमा कार्यरत ६ जना कर्मचारी र १ सय ९७ जना मजदुरहरू गरी २ सय ३ जनालाई उद्योगबाट हटाइएको सूचना उद्योग व्यवस्थापनले सार्वजनिक गरेपछि मजदुरहरू आन्दोलनमा उत्रिएका हुन् । कम्पनीले श्रम ऐनअनुसारको उचित क्षतिपूर्ति र उपदान सुविधाहरू दिएर मात्रै मजदुर कर्मचारीहरूलाई बिदा गर्ने भने पनि मजदुरहरूले ठूलो रकमको माग राखेपछि उद्योग व्यवस्थापन र मजदुरबीच कुरा मिल्न सकेको छैन ।
दुवै पक्षबीच दुईपटक वार्ता भए पनि समाधान हुन नसकेपछि मजदुरहरू उद्योगको मूलगेटमा धर्ना दिएका हुन् । उद्योगका महाप्रवन्धक उदयराज विष्टले उद्योगबाट उत्पादित मदिरा बिक्री नभएको र आर्थिक व्ययभार बढ्दै गएपछि उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरहरूलाई उचित क्षतिपूर्ति दिएर बिदा गर्ने निर्णय गरेको बताए । गत वर्ष जम्मा २ सय ४ दिन उद्योग चलेको र चालू आर्थिक वर्षमा दिनमा चार घण्टाको दर १ सय २८ दिनमात्रै उद्योग सञ्चालन भएकाले बर्सेनि आर्थिक भार बढ्दै जाँदा मजदुर कटौती गर्नुपरेको उनको भनाइ छ ।

मजदुर कर्मचारीहरूलाई कुनै नोक्सान नहुने गरी नै उद्योगले श्रम ऐनअनुसार सेवा सुविधा दिने भए पनि मजदुरहरूले ठूलो रकमको माग गर्दा समस्या आएको उनले बताए । मजदुरहरूले तोकिएको भन्दा तीन गुणा बढी सेवा सुविधा माग गरेको र उद्योगले दिन सक्ने अवस्था नरहेको महाप्रबन्धक विष्टले बताए । अझै पनि वार्ताको माध्यमबाटै समस्या समाधान गर्ने प्रयास उद्योग व्यवस्थापनको तर्फबाट गरिरहेको उनले जानकारी दिए ।
उद्योगमा कार्यरत मजदुर युनियनहरूले भने व्यावस्थापन पक्षले कुनै छलफल नै नगरी एक्कासि सूचना सार्वजनिक गरेपछि आन्दोलनमा जानुपरेको उनीहरूको भनाइ छ । आधिकारिक ट्रेड युनियन अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष पटेलले मागअनुसारको उचित क्षतिपूर्ति उपलब्ध गराइदिए स्वीकार्य हुने, तर, श्रम ऐनको नियमावलीअनुसार पनि कम्पनीले प्रक्रिया पूरा नगरेको बताए । उनले आधिकारिक ट्रेड युनियन हुँदाहँुदै पनि कुनै छलफल नै नगरी मजदुर कटौतीको सूचना सार्वजनिक गरेको बताए । उनले भने, “१०, ११ वर्ष काम गरेको भइसक्यो, श्रम ऐनले आचरण खराब भएमा अथवा कम्पनीमा बाधा पु¥याएमा भन्ने उल्लेख गरेको छ । तर, हाम्रो त्यस्तो आचरण केही खराब पनि छैन । त्यसो हो भने ५० जना किन राख्यो ? उनीहरूको पनि भविष्य त अन्योलमै छ । कानुनी हिसाबले जे लेखेको छ । त्यो हिसाबले क्षतिपूर्ति दिए सहमति गर्न सकिन्छ ।” उद्योग ठेक्का पट्टामा काम गराएका छन् । लक्ष्य दिएको हुन्छ, त्यो लक्ष्य पूरा गरेका छौं, लक्ष्य पूरा गर्ने सहमति नै गरेको छ । त्यो प्रमाण बोल्छ । अध्यक्ष पटेलले भने ।