कारोबार संवाददाता
मंगलबार, असार ३१, २०७६
233

कर्णालीमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन

जुम्ला-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन सुरु भएको छ । कर्णालीको व्यावसायिक प्रबद्र्धनका लागि सातवटै प्रदेशमध्ये अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक सम्मेलन भएको हो । कर्णालीका जडिबुटी, फलफूल तरकारी तथा कृषि उपजको सहज अन्तर्राष्ट्रिय व्यापार र व्यावसायिक बन्न देखिएका चुनौतीका बारेमा छलफल गर्न कर्णालीमा दुई अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन भएको कर्णाली सरकारले जनाएको छ ।
विश्वमै जल्दोबल्दो मुद्दाका रूपमा लिइने व्यावसायिक व्यवस्थापन तथा आर्थिक रूपान्तरणमा देखिएका समस्याको पहिचान र समाधान दिने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसोम) द्वारा आयोजित ‘व्यवस्थापन तथा रूपान्तरणका लागि प्रश्नहरूको उठान’ विषयक दुईदिने अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन भएको हो ।

सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् । उनले सम्मेलनले यस प्रदेशको योगदान र गरिमा बढाउनुका साथै सरकारको आगामी रूपरेखा तयारीमा सघाउने बताए । कर्णालीका व्यावसायिक कठिनाईलाई सहज ढंगबाट आर्थिक रूपान्तरणसँग जोड्नका लागि सम्मेलन महत्वपूर्ण रहेको उनको भनाइ छ ।
देशको अहिलेको आवश्यकता सैद्धान्तिक नभई प्राविधिक शिक्षा भएकाले विश्वविद्यालयले यसैमा जोड दिनुपर्ने उनको सुझाव थियो । समय अनुसारको विकास गर्न प्राविधिक शिक्षाको आवश्यकता पर्नेमा जोड दिए । कर्णालीमा भएको प्रचुर जलविद्युत्को सम्भावनालाई अध्यायन गर्दै कति मेगावाटको जलविद्युत् उत्पादन गर्न सकिन्छ भन्नेबारे अनुसन्धान र सम्भाव्यता अध्ययन गर्न समेत अनुरोध गरे ।
प्रदेश सरकारले विश्वविद्यालयको शैक्षिक विकासमा आवश्यक सहयोग गरी प्राविधिक शिक्षाको बढोत्तरीका लागि साथ दिने विश्वास दिलाए । व्यावसायिक सहजीकरण, अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध, आर्थिक रूपान्तरण र विपन्नको जीवन रूपान्तरका मुद्दालाई प्राथमिकता दिएर सरकारको दीर्घकालीन विकासमा टेवा पु¥याउने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डक्टर उपेन्द्रकुमार कोइरालाले बताए ।
विश्वभरका विभिन्न विश्व विद्यालयहरूले त्यस देशको सरकारलाई व्यावसायिक रूपमा अगाडि बढाउन, तथा मानव जातिको विकास र व्यावसायिक प्रबद्र्धनका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको समेत स्मरण गराए । दुईदिने व्यावसायिक सम्मेलनको उद्देश्यबारे प्रष्ट पार्दै स्कुल अफ म्यानेजमेन्टको एमबीए, एमफिल एन्ड पिएचडी कार्यक्रमका निर्देशक डा. नारायण पौडलले सम्मेलनमा सहभागी विभिन्न विश्वविद्यालयले व्यवस्थापन र रूपान्तरणमा देखिएका चुनौती तथा समस्याको कार्यपत्र प्रस्तुत गर्ने बताए ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विशेषगरी व्यावसायिक कठिनाइ र आर्थिक रूपान्तरका मुद्दालाई प्रथामिकता दिने दाबी गरे भने नेपालका त्रिभुवन विश्वविद्यालय लगायतका सबै प्रमुख विश्वविद्यालय, भारत र पाकिस्तानका विभिन्न विश्वविद्यालय तथा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयको दुईदिने व्यावसायिक सम्मेलनमा सहभागिता छ ।