कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
300

इलाम- नेपालमा उत्पादित वस्तु निकासीमा सम्बन्धित पक्षले चासो नदेखाएको भन्दै इलामका किसान, व्यापारी तथा व्यवसायीहरूले गुनासो गरेका छन् । विषादी परीक्षण गर्न १५ दिन तरकारी रोकिँदा भारतले पत्र लेख्दा विषादी परीक्षण नै रोक्ने सरकारले पटकौं पटक नेपालमा उत्पादन भएको चिया, अदुवा र अन्य सामग्री रोक्दा पनि कुनै चासो नराख्ने गरेको भन्दै किसान, व्यवसायी तथा व्यापारीहरूले गुनासो गरेका हुन् ।
औषधिय गुण भएको चिराइतोको नेपालमा धेरै चर्चा हुने गरे पनि निकासी ठप्प भइरहँदा सरकार र माथिल्लो निकायमा बसेका सरकारी निकायहरू चुप लागेको उनीहरूको आरोप छ । चिराइतो निकासी बन्द भएको लामोसमय भइसक्यो तर निकासीका लागि कसैले पहल नगरेको व्यापारीहरू बताउँछन् ।
किबि किसान गंगा विष्ठले नेपाल सरकार र इलाम उद्योगा वाणिज्य संघसँगको पहलमा पाँच वर्ष अघिदेखि गत वर्षसम्म एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत किबि लगाएको तर उत्पादन हुँदा बजारको समस्या पर्ने भन्दै बेलैमा चासो राख्न सम्बन्धित क्षेत्रको ध्यान जान जरुर रहेको बताए । इलाममा मात्र २० हजार बढी किबिका बिरुवा रोपिएको बताउँदै उनले आगामी वर्षदेखि नै उत्पादन दोब्बर बढ्ने तर बजारीकरणको समस्या हुने उनको भनाइ छ ।
त्यस्तै चिया उद्योगी रमेश पराजुलीले चिया निकासी समस्या हट्न नसक्दा उद्योगीले समस्या भोग्नु परेको वताए । उनले आफूहरूले समस्या भोग्दा किसानहरूलाई समेत मार पर्ने धारणा राखे ।
इलाम उद्योग वाणिज्य संघ इलामका अध्यक्ष ईश्वर चिपालुले सरकारी निकायबाट पहल गर्ने हो भने समस्या समाधान हुने वताए । उनले सरकारले चासो नदिँदा यस्तो समस्या बल्झिरहने तर्क गरे । वाणिज्य संघका महासचिव हेमन्त गौतमले किसान र व्यापारीको मात्र समस्या नभएर सिंगो देशको समस्याका रुपमा लिन सरकारलाई आग्रह गरे । जिल्लाका धेरै किसानहरू भारतले गर्ने पटक–पटकको पैठारी रोक्ने कार्यले त्रसित हुने गरेका छन् । बर्सेनि उत्पादन मूल्य बढ्ने गरेको बताउँदै भाउ भने घट्ने समस्याले आफूहरू मारमा परेको किसानहरूको भनाइ छ । चिया, चिराइतो अदुवालगायतका कृषिजन्य उत्पादन भारततर्फबाट पटक–पटक रोकाका कारण समस्या दोहोरिरहने उनीहरू बताउँछन् ।
इलाममा साना तथा ठूला गरेर एक सय बढी चिया कारखानाहरू सञ्चालनमा छन् । यहाँबाट करिब ५० लाख किलो तयारी चिया उत्पादन हुन्छ । यहाँबाट ४५ लाख किलो सुक्खा तयारी चिया बाहिरिने गरेको केन्द्रीय चिया सहकारी संघको तथ्यांकमा उल्लेख छ । संघमा महासचिव रविन राईले ४५ लाख किलोमध्ये ४० लाख किलो तयारी चिया भारतका बजारमा नै जाने गरेको बताए । भारतमा प्रतिकिलो २ सय ५० (भारु) का दरले मात्र चिया निकासी हुने गरेको भन्दै भारतका व्यापारीले सधंै ठग्ने गरेको उनको आरोप छ ।
नेपालबाट उत्पादित चियालाई उत्पादनको सुरुमा भारतले चिया परीक्षण भन्दै महिनौ लिन नमान्ने त्यति गर्दा भारतको चियाले बजार लिइसक्ने भन्दै नेपाली किसान र व्यापारी ठगिने गरेको उद्योगीहरूको भनाइ छ । यहाँबाट करिब ५ लाख किलोग्राम चिया युरोपियन मुलुकमा निर्यात हुने गरेको र त्यस चियाले राम्रो मूल्य पाउने गरेको उनीहरू बताउँछन् । चियाको गुणस्तर हेर्न र चिया चाख्नकै लागि युरोपियन मुलुकबाट धेरै चिया व्यापारीहरू पनि नेपाल आउने गरेका छन् । एउटै चियाको फक–फरक मूल्य भएका कारण किसान तथा व्यापारीहरूलाई समस्या हुने गरेको छ ।
इलामका चिया किसानहरूले सरकारी निकायबाट चियाका लागि विनयोजिन भएको रकम आफूहरूसमक्ष आइनपुग्ने भन्दै सो रकमले अव नेपालका विभिन्न क्षेत्रमा चिया खाने कार्यक्रम राख्न आग्रह गरे । उनीहरूले चियामा समेत औषधिय गुण हुने भएकाले चियाका फाइदा, चिया पिउने तरिका र चियाका प्रकार सिकाउन आवश्यक रहेको बताए ।
इलाममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर र इलाम उद्योग वाणिज्य संघ इलामको आयोजनामा यससम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत भएको छ । अव निर्यातको समस्या हटाउन आफूहरू लागि पर्ने प्रवद्र्धन केन्द्रले जनाएको छ । प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले निकासीमा आफूहरूले पहल गरे पनि नीतिगत समस्या हट्न नसकेको बताए ।
आयात निर्यातमा समस्या भएकाले
बिर्तामोड शनिबार बन्द

झापा, २६ असार (कास) लामो समयदेखि सातामा एकदिन सोमबार बन्द हुँदै आएको बिर्तामोड अबदेखि शनिबार बन्द हुने भएको छ । बिर्तामोडको व्यापारमा ठूलो हिस्सा ओगट्ने विभिन्न १० वटा वस्तुगत संघ–संस्थाको पहलमा शनिबार बन्द गरिने भएको हो ।
व्यवसायीले साउन ४ गतेबाट शनिबार बन्द गरिने बताएका छन् । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी व्यवसायीले साउन ४ गतेदेखि प्रत्येक शनिबार बजार बन्द गर्ने जानकारी दिएका छन् । मेची डिस्ट्रीब्युटर्स एसोसिएसन, हार्डवेयर व्यवसायी संघ झापा, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापा, नेपाल मार्बल व्यापार संघ झापा, मेशिनरी एसोसिएशन बिर्तामोड, नेपाल अटोमेकानिक्स ट्रेड युनियन, कम्प्युटर एसोसिएशन अफ नेपाल झापा, नेपाल व्यापार कर्मचारी संघ (युनिकम), मोबाइल एसोसिएसन झापा र हेभि इक्विपमेन्ट व्यवसायी संघले शनिबार बजार बन्द गर्ने विषयमा ऐक्यबद्धता जनाएका छन् ।
“प्रशासनिक हिसावले पनि शनिवार बजार बन्द गर्नु उपयुक्त हुन्छ, सोमबारको बन्दले व्यवसायमा असर पुगेकाले शनिबार गर्ने निर्णय गरेका हौं” मेची डिष्ट्रिब्युटर्स एसोसिएसनका अध्यक्ष राजेन्द्र थापाले भने, “हामी आयात निर्यातमा संलग्न व्यवसायीहरू सोमबारको बन्दले आजित भएका छौँ ।” शुक्रबार भन्सारमा काम नहुने, शनिबार नेपालमा सार्वजनिक बिदा, आइतबार भारतको सार्वजनिक बिदा र सोमबार बिर्तामोड बन्द हुने भएकाले सातामा चारदिन काम गर्न नपाएको थापाले बताए ।
उनले शनिबार बन्द हुँदा शनिबार भारततर्फको प्रक्रिया सकिएर नेपालको प्रक्रियाका लागि अन्य दिन पर्याप्त हुने जानकारी दिए । चार वर्षदेखि शनिबार बन्द गर्नका लागि पहल गरेको भए पनि हाल आएर बिभिन्न संघ–संस्थासँग सहमति जुटेको थापाले बताए । शनिबार व्यवसाय खुल्ला रहे तापनि न्युन कारोबार हुने भएकाले सोही दिन बन्द गर्नु उपयुक्त हुने हार्डवेयर व्यवसायी संघ झापाका अध्यक्ष मात्रिका कोइरालाले बताए ।
उनले प्रदेशका ठूला सहरले पनि शनिबार बन्द गरिरहेको हुनाले बिर्तामोडले पनि सोही अनुरूप गर्नुपर्ने बताए । शनिबारको बन्दलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको पनि समर्थन रहेको जानकारी कोइरालाले दिए । तर, झापा महासंघ यसबारेमा हालसम्म अनिर्णित रहेको उनले बताए । व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ बिर्तामोडलाई शनिबार बजार बन्दको आग्रह गर्दै पटक–पटक लिखित तथा मौखिक आग्रह गरेको पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । वाणिज्य संघले शनिबार बन्दको विषयमा कुनै निर्णय नगरेकाले वस्तुगत संगठन र त्यसमा आबद्ध व्यवसायीले बन्दलाई एकरूप बनाउने उद्देश्यले साउन ४ गतेदेखि शनिबार बन्दको आह्वान गरेका बताइएको छ ।

 

टीका खतिवडा