कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
193

नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर महिला सिर्जनशील केन्द्रले यही साउन र भादौ महिनामा ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिभल–सिर्जनशील उद्यमी मेला–२०१९’ इन एसोसिएसन विथ सेफ्टी’ आयोजना गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो तीज मेलाका रूपमा विगत १८ वर्षदेखि सञ्चालन हुँदै आएको तीज फेस्टिभलको यो १८ औं संस्करण नेपालका विभिन्न ३ सहरहरुमा आयोजना हुने भएको छ ।
सन् २००२ देखि काठमाडौंको भृकुटीमण्डपमा मात्र आयोजना हुने गरेको तीज फेस्टिभल–सिर्जनसील उद्यमी मेला यो वर्षदेखि प्रदेश नम्बर १ को इटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुने भएको छ । काठमाडौंमा यही साउन १६ गतेदेखि २० गतेसम्म आयोजना हुनेछ भने इटहरीमा साउन ३० देखि ३२ गतेसम्म सञ्चालन हुनेछ । हेटौंडामा भने तीज मेला भदौ ५ गतेदेखि ७ गतेसम्म आयोजना हुँदै ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिभल–सिर्जनशील उद्यमी मेला–२०१९’ इन एसोसिएसन विथ सेफ्टी’ को समापन पनि हुनेछ ।

तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रूपमा पनि परिचित रहँदै आएको छ । यो फेस्टिभलमा यो वर्ष काठमाडौंमा २०० भन्दा बढी कम्पनी, संघ–संस्थाहरुको सहभागीता हुनेछ भने १ लाखभन्दा बढी मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
यो इभेन्टमा महिला उद्यमीहरुले आफ्ना सिर्जनाहरु उत्पादन र सेवामार्फत प्रदर्शन गर्ने उद्देश्यले वार्षिक रूपमा आयोजना गरिँदै आएको छ । यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ । यो महिलाहरुको लागि व्यावसायिक सम्पर्क बढाउने माध्यमको रूपमा विगत १८ वर्षदेखि आयोजना हुँदै आएको छ ।
महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले तीज फेस्टिभल केवल मेलाको रूपमा मात्र नभई महिलाहरुलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरुलाई प्रबद्र्धन गर्ने माध्यम भएको बताइन् ।