दीननाथ बराल
बिहिवार, असार २६, २०७६
417

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा हिजो–आज पनि मापदण्डविपरीत रातो प्लेटका साना सवारी साधनहरू (मोटरसाइकल, स्कुटर) भाडामा सञ्चालन हुँदै आएका छन् । नेपालको कानुनमा रातो प्लेटका सवारी साधनहरूलाई भाडामा लगाउन नपाइने प्रावधान भए पनि पोखराको लेकसाइडमा भने पर्यटकहरूलाई लक्षित गरी व्यवसायीहरूले करिब तीन दशकभन्दा लामो समयदेखि हिजो आजसम्म निरन्तर रूपमा मापदण्डविपरीत रातो प्लेटका मोटरसाइकल तथा स्कुटर भाडामा सञ्चालन गर्दै आएका हुन् ।
पोखरामा एक व्यवसायी बाहेक सम्भवत अधिकांश करिब २ सयको हाराहारीमा व्यवसायीहरूले पोखरामा करिब एक हजार मोटरसाइकल तथा स्कुटर भाडामा लगाउँदै आएका छन् । नत यसको कुनै निकायले तथ्यांक लिएको छ नत यहाँको कुनै निकायले यसलाई व्यवस्थित वा सञ्चालनमा रोक नै लगाउन सकेको छ ।

व्यवसायीहरूले पर्यटकहरूको मागको आधारमा आफूहरूले साना सवारी साधनहरू (मोटरसाइकल तथा स्कुटर) भाडामा दिने गरेको बताएका छन् । पोखरामा विगत ३५ वर्षदेखि भाडामा रातो प्लेटका मोटरसाइकल तथा स्कुटर सञ्चालन हुँदै आएको पोखरा लेकसाइडस्थित हल्लनचोकका एक व्यवसायी इन्द्रमान चौहानले बताए । उनले भने “यसलाई नत सरकारले व्यवस्थित पार्न सक्छ नत व्यवसायीहरूले नै व्यवस्थित पार्न सकेका छन्, मैले थाहा पाएको ३५-३६ वर्ष अघिदेखि पोखरामा भाडामा मोटरसाइकल तथा स्कुटर सञ्चालन हँुदै आएका छन् ।” विदेशका धेरै पर्यटकीय स्थलहरूमा पर्यटकहरूको घुमघामको लागि भाडामा सवारी साधनहरू पाउने भएकोले पोखरामा पनि यसको उचित व्यवस्था गरेर राज्यले आफूहरूसँग निश्चित कर संकलन गर्न व्यवसायी चौहानले आग्रह गरे । सरकारले नियमन पनि गर्न नसक्ने व्यवसायीले पनि सधै त्रासमा व्यवसाय गर्दा हाल वार्षिक करिब ५० लाखभन्दा बढी राजस्व गुमेको उनको भनाइ थियो ।
स्थानीय र प्रदेश सरकारले यसलाई नियमन गरेको खण्डमा आफूहरूले उचित कर तिर्न तयार रहेको चौहानले जनाए । बाइक भाडामा लगाउने उद्देश्यले पोखराको हल्लनचोकमा रहेको पोखरा बाइक रेन्ट प्रालिले २०७४ मा पोखरा महानगरपालिका तथा कम्पनी रजिस्टार कार्यालयबाट अनुमति लिए पनि उक्त प्रालिले समेत निर्वात रूपमा पोखरामा भाडामा सवारी साधनहरू लगाउन नपाएको प्रालिका सञ्चालक सन्देश रानाभाटले बताए । रानाभाटका बाबु दलबहादुर रानाभाटले आफूहरूले सम्बन्धित निकायमा दर्ता गरी केही रकम राज्यले कर बुझाएर व्यवसाय गरौंभन्दा पनि राज्य पक्ष ट्राफिक प्रहरीले पटक–पटक दुःख कस्ट र जरीवाना गराउने गरेको जनाए ।
उनले भने, “पोखरामा मैले विगत ८-१० वर्षदेखि बिना दर्ता मोटरसाइकल तथा स्कुटर भाडामा लगाउँदै आएको थिए तर अब त राज्यलाई कर तिर्नुपर्छ भनेर दर्ता गरेर व्यवसाय सञ्चालन गर्दा पनि अझै प्रहरी प्रशासनको त्रास खेप्नुपर्छ ।” दर्ता गरेर पनि त्रास प्रहरी प्रशासनको डर धम्की खेप्नुभन्दा दर्ता बिना नै सञ्चालन गरेको भए आफ्नो वार्षिक करिब ५०-६० हजार बचत हुने उनले जनाए । राज्यले आफ्नो व्यवसायलाई अझ राम्रोसँग नियमन गरी कर संकलन गर्ने एउटा निती ल्याउनुपर्ने उनको माथ थियो ।
ट्राफिक प्रहरीले पोखरा महानगर र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मान्न्यता प्राप्तपत्र देखाउँदा पनि माथिबाट आदेशले भन्दै प्रयोजनविपरीत भन्दै एक पटकमा ५ सय रुपैयाँ जरिवाना गर्ने गरेको दलबहादुरले बताए । आगन्तुक पाहुना स्वदेशी तथा विदेशीको हकमा उनीहरूको लाइसेन्स लियर मात्र उनीहरूलाई प्रतिघण्टादेखि केही दिनसम्मका लागि भाडामा लगाउँदै आएको उनले जनाए । प्रतिघण्टा २ सयदेखि ३ सय ५०, प्रतिदिनको ८ सयदेखि २ हजार रुपैयाँसम्म मोटरसाइकल तथा स्कुटरको भाडा लिने गरेको दलबहादुरले बताए ।
उनको कम्पनीमा हाल ५ वटा स्कुटर, २ पल्सर र ३ बुलेट मोटरसाइकल रहेको उनले जनाए । मोटरसाइकल तथा स्कुटर भाडामा लगाउने सिस्टम पर्यटकीय धेरै देशहरूमा लागू भएकाले गर्दा पोखरा आउने पर्यटकहरूलाई पनि हामीले उक्त सेवा उपलब्ध गराउने उद्देश्ययले राज्यले अनुमति नदिए पनि आफूहरूले जेन तेन सञ्चालन गर्दै आएको एक व्यवसायीले बताए । विगत १८ वर्षदेखि बाइक भाडामा लगाइ व्यवसाय सञ्चालन गर्दै आएका कृष्ण सुवेदीले हाल हल्लनचोकमा ८ वटा बाइक तथा स्कुटर भाडामा सञ्चालन गर्दै आएका छन् । राज्यले निश्चित मापदण्ड पूरा गरेर आफूहरूले विगतका वर्षदेखि गर्दै आएको व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन उनले आग्रह गरे ।उनले भने, “हामीले बाइक भाडामा सञ्चालनका लागि यातायात मन्त्रालयसम्म फाइल पेस गरेका छौं, हामीले राज्यलाई कर तिर्न तयार छौं, राज्यले यसलाई नियमन गर्नु प-यो ।” सानो सवारी साधन पर्यटकहरूको लागि अति आवश्यक भएको उनले बताए । उनले भने “बिहान पर्यटकलाई बाइक लियर गएपछि कुनै पनि समयमा हामीलाई प्रहरीबाट फोन आउन सक्छ हामीलाई एकातर्फ त्रास छ भने पर्यटकलाई समेत यसले असर पारेको छ ।” 

यस बिषयमा कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्कीले कुनै पनि रातो प्लेटका सवारी साधनहरूले भाडामा लगायर व्यवसाय सञ्चालन गर्न नहुने बताए । उनले भने, “रातो प्लेटका सवारी साधनहरू यदि कसैले आफ्ना साथे भाइलाई केही समयका लागि चलाउन दिनु छुट्टै कुरा हो तर व्यावसायिक रूपमा रातो प्लेटका सवारी साधनहरू भाडामा लगाएको हामीले भेटेमा कारवाही गछौं ।” रातो प्लेटको सवारी साधन भाडमा सञ्चालनको लागि कसैले अनुमति लिन र दिन नमिल्ने उनको भनाइ छ । प्रयोजन विपरित कसैले कुनै सवारी साधन प्रयोग गरे आफूहरूले कारबाही गर्ने एसपी कार्कीले चेतावनी दिएका छन् ।