हरिश चन्द
मंगलबार, असार २४, २०७६
432

सदरमुकाममा आलु चिप्स उद्योग सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोनको पूरक अनुदान सहयोगमा आलु चिप्स उद्योग सञ्चालनमा ल्याइएको हो । आलु उत्पादन बढ्दै गएसँगै आलु सुपरजोन बनाइएको डडेल्धुरामा आलुको खपतका लागि चिप्स उद्योग सञ्चालन गरिएको हो ।
परियोजनाको ८ लाख बराबरका उपकरण सहयोगमा उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज पण्डेयले बताए । आइतबार आलु चिप्स उत्पादन परीक्षण सार्वजनिक गर्दै सञ्चालक पाण्डेयले उद्योग सञ्चालन गरी आलु चिप्स बजारमा ल्याएको जानकारी गराए । उद्योग सञ्चालन भएसँगै स्थानीय उत्पादन स्थानीय बजारमै खपत हुनुका साथै रोजगारीको अवसर सिर्जना भएको बताए । उनले जीएस उद्योगमार्फत आलु चिप्स बजारमा ल्याएको बताए ।
सञ्चालक पाण्डेयले जीएस नामक उद्योगमार्फत यसअघि टमाटर, मिक्स सस र नमकिन बजारमा ल्याएको बताउँदै केही उपकरण आलु चिप्समा पनि काम लाग्ने भएकाले र यससँगै परियोजनाले समेत आवश्यक उपकरण उपलब्ध गराएपछि आलु चिप्स पनि बजारमा ल्याएको जानकारी गराए । यसअघि उनले रिज्म एफपीको अनुदान सहयोगमा टमाटर, मिक्स सस बजारमा ल्याएका थिए । आलु चिप्स उद्योगका लागि आवश्यक भवन, स्थान पर्याप्त रहेकाले परियोजनाले समेत पूरक अनुदानमा उपकरण उपलब्ध गराउने भएपछि आलु चिप्स उद्योग सञ्चालनमा ल्याएको उनले बताए ।