कारोबार संवाददाता
सोमवार, असार २३, २०७६
292

आईसिटी अवार्ड–२०१९

लिभिङ विथ आईसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आईसिटी अवार्ड–२०१९’ अन्तर्गत ९ विधामध्ये ३ विधाका शीर्ष ११ को घोषणा गरिएको छ । ११ सदस्यीय निर्णायक समूहले विभिन्न चरण र छनोट प्रक्रियामार्फत शीर्ष ११ को टुंगो लगाएको हो ।
यी तीन विधाअन्तर्गत स्टार्टअप आईसिटी अवार्ड, प्रडक्ट आईसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसिटी अवार्डका उत्कृष्ट ११ प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको जानकारी जुरी समूहले दिएको छ । आईसिटी स्टार्टअप अवार्ड–२०१९ अन्तर्गत विभिन्न ९ विधाका लागि १ सय ५० बढीले अनलाइन आवेदन दिएका थिए । सेल्फ नोमिनेसनबाट प्राप्त आवदेन, डकुमेन्ट र प्रोफाइलको आधारमा स्टार्टअप आईसिटी अवार्ड, प्रडक्ट आईसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसिटी अवार्डका लागि उत्कृष्ट ११ को छनोट गरिएको हो ।
यसअन्तर्गत शीर्ष ११ मा सफल स्टार्टअप कम्पनीमा एडमाना टेक्नोलोजी, सिनिकल टेक्नोलोजी प्रालि, ई–डिजिटल नेपाल प्रालि, हाम्रो टेक्नोलोजी प्रालि, खाली सिसी प्रालि, किताब यात्रा प्रालि, यती बुक्स स्टोर, टायर ट्रिजर्स, युजी केक्स प्रालि, उनेल्मा प्लाटफर्म र वाकम्यान ‘ग्रिन क्वेन्स’ छन् । स्टार्टअप आईसिटी अवार्डमा ३० भन्दा बढीको नोमिनेशन प्राप्त भएको थियो । पहिलो चरणमा क्राइटेरियामा परेका कम्पनीहरूलाई छनोट प्रक्रियामा समावेश गरिएको थियो ।
त्यसैगरी प्रडक्ट आइसिटी अवार्ड–२०१९ अन्तर्गत कुल २६ प्रडक्टको अनलाइन आवेदन परेको थियो । यसअन्तर्गत शीर्ष ११ मा विधाना, डेल्टा सेल्स एप, डिजिटल एड नेटवर्क प्लाटफर्म, प्रोमिस टु सेक्युर, इन्सपेला, खोज इन्फो, एमबैंक, मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस, स्कुल म्यानेजमेन्ट सिस्टम, श्रीयोग डटकम र सर्भे म्यानेजमेन्ट सिस्टम पर्न सफल भएका छन् ।
त्यसैगरी राइजिङ आईसिटी अवार्ड–२०१९ मा कुल २० ओटा आवेदन परेको थियो । कलेज पढ्दै गरेका विद्यार्थीले बनाएका इन्नोभेटिभ प्रोजेक्टहरूबीच प्रतिष्पर्धा गराइने यो विधाबाट उत्कृष्ट ११ मा बचाओ एप, हेल्प ईआर, नयाँ किनमेल, प्रशासन ई, रक्तदान, स्मार्ट बोट फर रेक्स्यु, वाटर टेस्टर एप, इमेज सर्भ इन्जिन, नेपाली स्टेमिङ, भिनसेल फेस र ट्रिप सहयात्री छानिन सफल भएका छन् ।
यी तीन विधाका उत्कृष्ट ११ ले आगामी असार २८ गते शनिबार ११ जना जुरीको माझ प्रेजेन्टेसन, स्पिड डेटिङ र अन्तवार्ता सेसनमा सहभागी हुनेछन् । त्यसबाट छानिएका उत्कृष्ट ५-५ प्रतिस्पर्धीका लागि अनलाइन तथा एसएमएस भोटिङ सुरु हुनेछ । यस वर्ष उत्कृष्ट ११ मा प्रत्येक विधामा २ भन्दा बढी प्रतिस्पर्धीहरू काठमाडौं बाहिरबाट समावेश भएका छन् ।
जुरीहरूबाट प्राप्त जानकारीअनुसार पायोनियर आईसिटी अवार्ड, डिजिटल गभर्नेन्स आईसिटी अवार्ड, आन्ट्रप्रनर आईसिटी अवार्ड, नेपाली डायस्पोरा आईसिटी अवार्ड, डिजिटल एजुकेसन आईसिटी अवार्ड र मिडिया पर्सन आईसिटी अवार्ड–२०१९ को छनोट प्रक्रिया जारी छ । जुरी समूहले यी विधामा प्राप्त डकुमेन्ट र प्रोफाइल अध्ययन गरिरहेको जानकारी दिएको छ । विभिन्न चरणका छनोटहरूसँगै यस वर्ष फिल्ड भिजिटको कार्यक्रमसमेत समावेश गरिएको छ ।