कारोबार संवाददाता
आइतवार, असार २२, २०७६
209

विराटनगर-उद्योग संगठन मोरङ र राजस्व अनुसन्धान विभागको संयुक्त आयोजनामा भेइकल एण्ड कन्साइनमेन्ट ट्रेकिङ सिस्टम (भीसीटीएस)का विषयमा छलफल सम्पन्न भएको छ ।
कार्यक्रममा संगठनका कार्यबाहक अध्यक्ष सुयश प्याकुरेलले साउनदेखि राजस्व अनुसन्धान विभागले लागू गर्न लागेको भेइकल एन्ड कन्साइन्डमेन्ट ट्रेकिङ सिस्टमको कार्यान्वयनबाट कस्ता चुनैतीहरू उद्योगी÷व्यवसायीले भोग्नुपर्छ भन्ने विषयमा चर्चा गरेका थिए । त्यस्तै कार्यक्रममा उनले भीसीटीएसको फाइदा र बेफाइदा, सिस्टमलाई व्यावहारिक रुपमा कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ लगायतका विषयमा जानकारी गराउन आवश्यक देखिएको उल्लेख गरे । भीसीटीएसबारे उद्योगी व्यवसायीलाई जानकारी दिन राजसव अनुसन्धान विभागसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको प्याकुरेलले बताए ।

कार्यबाहक अध्यक्ष प्याकुरेलले वेभमा आधारित कार्य भएकाले व्यवहारिक रुपमा कार्यान्वयन गर्दा समस्या आउन सक्नेतर्फ विभागको ध्यानाकर्षण गराउँदै लागू गर्नुपूर्व व्यवहारिक समस्या समाधान गर्दै लैजानुपर्नेमा जोड दिए ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले व्यावसायिक पारदर्शिता कायम गर्नु र व्यवसायलाई सहज बनाउन भीसीटीएसले मद्दत पु¥याउने दाबी गरे । महानिर्देशक मैनालीले सुरुवातमा केही कठिनाई आए पनि विभागले त्यस्ता बाधा अड्चन फुकाउँदै लैजाने प्रस्ट्याए । उनले भीसीटीएसलाई व्यवसायमैत्री बनाउन उद्योग÷व्यवसायीको सहयोग आवश्यक हुने भएकाले सहयोगात्मक भावनाले सिकाउँदै लैजाने र काम गर्दै जाँदा त्रुटि आए सच्याउन सकिने जानकारी गराए ।
संगठनका उपाध्यक्ष प्रदिप मुरारकाले वेभमा आधारित भएर दर्ता गर्नुपर्ने भएकाले व्यावहारिक रुपमा कठिनाई सिर्जना हुन सक्नेतर्फ सजग गराउँदै सिस्टममा सुधार ल्याउनुपर्नेमा जोड दिए ।
संगठनका उपाध्यक्ष राकेश सुरानाले सिस्टम कार्यान्वयनमा ल्याउँदा गैरकानुनी व्यापारलाई निरुत्साहित गर्ने मद्त पुगी वैध व्यापार वृद्धि हुने बताए । उनले इन्टरनेट सुविधा सस्तो र सुलभ नभएकाले इन्टरनेटको गुणस्तर सुधार गरी सस्तो बनाउनुपर्नेमा जोड दिए । संगठनका पूर्वअध्यक्ष सुशील धनावतले व्यवहारकि कठिनाइलाई दृष्टिगत गर्दै साउन १ देखि लागू गर्नुभन्दा पहिला यस सिस्टमका सम्बन्धमा जनचेतनाका कार्यक्रम आयोजना गरी केही महिनाको समय दिई मात्र लागू गर्न आग्रह गरे ।
कार्यक्रममा राजस्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मीले भीसीटीएससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै यसको प्रयोग विधि, डाटा ईन्ट्री गर्दा उद्योगी-व्यवसायीले ध्यान राख्नुपर्ने लगायतका विषयमा प्रकाश पारे ।
छलफलका क्रममा उद्योगी व्यवसायीले यसको कार्यान्वयनबाट सिर्जना हुन सक्ने चुनौतीको बारेमा विभागका महानिर्देशकलाई अवगत गराए । कार्यक्रममा उद्योगी संगठन मोरङ, मोरङ व्यापार संघ, विराट व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ, ट्रक व्यवसायीक संघ, पेट्रोलियम डिलर व्यवसायी संघ, थोक बिक्रेता संघ, खुद्रा बिक्रेता संघ, मदिरा व्यवसायी संघका अध्यक्ष, कार्यकारिणी सदस्यहरूका साथै उद्योगी- व्यवसायीहरूको सहभागिता थियो ।