कारोबार संवाददाता
आइतवार, असार २२, २०७६
186

नेपाल चेम्बर अफ कमर्सको ४ औं पटक सफलतापूर्वक सम्पन्न गरी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनीमार्ग काठमाडौंमा पाँचौं नेपाल चेम्बर एक्स्पो–२०२० आयोजना गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलाले अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भैरहेको अवस्थामा दिनहुँ  व्यापारघाटा चुलिँदै गएको विदितै छ । मुलुकको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य छ । चुलिँदै गइरहेको व्यापारघाटा न्यूनीकरण गर्दै आर्थिक क्रियाकलापलाई तीव्र गतिमा चलायमान बनाउन निजी क्षेत्रको सक्रियता महत्वपूर्ण हुनेमा दुई मत छैन । यस्तो अवस्थामा देशको समग्र विकास निजी क्षेत्रको सशक्तीकरणबाट मात्र सम्भव हुने मूलमन्त्रसहित पाँचौं संस्करणको मेला आयोजना गर्न लागिएको हो ।

नेपाल भ्रमण वर्ष–२०२० को समयमा आयोजना गरिएको एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले बताए । “झन्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागी हुने विषयमा कुराकानी भइरहेको छ । यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं,” श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।
“निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरूमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो । चार पटकसम्मको सफलतापूर्वक आयोजना गरी सकेपछि नेपाल चेम्बर अफ कमर्सले मेलाको पाँचौं संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ ।” चेम्बर अफ कमर्सका मेला समिति संयोजक राष्ट्र भूषण चाकुबजीले भने ।
यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।
गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ताहित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ ।
निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई नेपाल चेम्बर अफ कमर्सले यस प्रदर्शनीमार्फत निकासी योग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहलकदमीसमेत लिने उद्देश्य राखेको छ ।
विगत वर्षका मेलामा जस्तै यो मेलामा पनि विभिन्न मुलुकहरूबाट उद्योगी व्यवसायी तथा तिनका छाता संगठनहरूले सहभागिता जनाउने छन् । यसले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनमा पनि टेवापुग्ने विश्वास लिइएको छ ।
“यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीसँगै मेलामा अटोमोबाइल, विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एन्ड एकसेसरिज, मोबाइल तथा ग्याजेटलगायत विधाका उत्पादन तथा सेवाहरू आकर्षणका रूपमा रहने छन् । मेलाको व्यवस्थापनमा पनि विशेष ध्यान दिइनेछ ।” मेलाको व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी गराए ।
मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरू रहने छन् जस्मा ९० वटा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ । नेपाललगायत भारत, चीन, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्सलगायत युरोपका मुलुकहरू तथा अन्य राष्ट्रहरूमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् ।