कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६
931

सबैतिरबाट आक्रमणमा परेपछि नेपाल वायुसेवा निगमबाट अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजान विभिन्न प्रयास थालेको छ । जसअनुसार दिल्ली सेक्टरका लागि साताको १४ उडान भइरहेकोमा २१ बनाउने योजनाअनुसार स्लट प्राप्त भइसकेको भन्दै वायुसेवाले दिल्लीका लागि प्रतिसाता ११ उडान रहेकोमा हाल १४ पुरयाइएको जनाएको छ ।
साताको १४ उडानमध्ये ७ उडान न्यारो बडीमार्फत र ७ उडान वाइड बडीमार्फत गरिएको तथा युनाइटेड अरब इमिरेट्सको दुबईमा प्रतिहप्ता ३ उडान गरिँदै आएकोमा एक थप गरी ४ वटा पुरयाइने पनि वायुसेवाले जनायो ।

आन्तरिक उडानका पाइलटको तालिम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइ नेपालमा नै तालिम सञ्चालन गर्ने व्यवस्था पनि गरेको भन्दै वायुसेवा निगमले वाई १२ ई उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी वाई १२ ई जहाज सुचारु रूपमा सञ्चालन गर्नेतर्फ सक्रिय रहेको पनि जनायो ।
यस्तै, निगमको ट्विन अट्टर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजना अनुरूप निगमले हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको छ । साथै दुई वर्षदेखि रोकिएको को–पाइलटहरूको तालिम सुचारु गराई एक जनाको तालिम सम्पन्न गरी नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स इन्डोर्समेन्ट गर्ने कार्य भइरहेको छ । बाँकी तीन जनाको तालिम समेत सञ्चालन भइरहेको छ र सो तालिम आगामी साउन मसान्तभित्र सम्पन्न गरिने पनि निगमको योजना रहेको जानएको छ ।
पाइलट जस्तो दक्ष जनशक्तिको सिमुलेटर तालिम सम्पन्न भई लाइसेन्स प्राप्त भएपछि पनि प्रशिक्षक पाइलटसँग निश्चित घण्टा उडान गरी लाइन क्लियरेन्स गरेपछि मात्र नियमित उडान भर्न मिल्ने भएकाले निगमले तयार गरेको जनशक्तिको लाइन क्लिरेन्सको क्रम जारी छ ।
न्यारो बडीमा लाइन क्लिरेन्स भएका जनशक्ति पर्याप्त मात्रामा तयार भएपछि न्यारो बडी जहाजबाट वाइड बडी जहाजमा आवश्यक तालिम गराई वाइड बडीमा समेत नेपाली जनशक्ति तयार गर्नेतर्फ निगमले कार्य गरिरहेको छ । सोही योजनाअनुसार निगमले थप नेपाली जनशक्ति नियुक्त गर्न लोकसेवा आयोगमार्फत आवेदन माग गरी नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया अन्तिम चरणमा पुरयाएको छ ।
अन्तर्राष्ट्रिय कम्पनी बीसीटीले गरिरहेको विमान मर्मत सम्भार कार्य जुलाई महिनादेखि स्वयं नेवानिका इन्जिनियरहरूबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । जसले गर्दा प्रतिमहिना ५० देखि ६० लाख रुपैयाँसम्म बचत हुनेछ । गत जेठ महिनामा कन्टिन्यूइङ एयरवर्डिनेस म्यनेजमेन्ट विभागले आइएसओको सफल अडिट गराई प्रमाणपत्रसमेत प्राप्त गर्न सफल भएको छ । यसबाट सुरक्षा र इन्जिनियरिङ व्यवस्थापनमा निगम सदैव सचेत रहेको पुष्टि हुन्छ ।