कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६
375

ई–ट्रान्सपोर्टेसन सर्भिस प्रालिले सूचना प्रविधिको उपयोग गर्दै नेपालभर सामान ढुवानी सेवालाई सहज, सरल, व्यवस्थित र पारदर्शी बनाउन तथा निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा उपलब्ध गराउने उद्देश्यले ई–ट्रान्सपोर्टेसन सर्भिस सञ्चालनमा ल्याएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उक्त सेवाको विधिवत रूपमा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उद्घाटन् गरेका हुन् ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाल, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेल, आईटी एक्सपर्ट रोबट विश्वकर्मा, सफ्टवेयर डेभ्लपर आलोक पाण्डेलगायतको उपस्थिति थियो ।
कार्यक्रममा मन्त्री पण्डितले नविनतम सोचका साथ सुरु भएको उक्त सेवाको सफलताको शुभकामना व्यक्त गरे । उनले वर्तमान सरकार पनि ई–गभर्नेन्सतर्फ अघि बढिरहेको सुनाए । उनले भने, “हामी ई–गभर्नेन्स प्रणालीमा छिटो जान चाहन्छ । निजी क्षेत्रबाट जुन यो प्रयास भएको छ । अझै धेरै प्रयास हुन जरुरी छ । यसको निम्ति सरकारको तर्फबाट गर्नुपर्ने जुन भूमिका निर्वाह गर्नुपर्छ, सामान्य र सहकार्य हुँदा पूरै सहयोग प्राप्त हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु ।”
पण्डितले सरल र सहजताका लागि ई–ट्रा, प्रधानमन्त्रीले ल्यापटप दिए र मन्त्रिपरिषद् पेपेरलेस भएर, एक महिनाभित्र यदि नियुक्त भएका मन्त्रीहरूले पेपेरलेस क्याबिनेटमा जान्नुभएन भने, ल्यापटप र मन्त्री पद पनि उपहार दिएर बिदा गर्ने बताए । अहिले पेपरलेस छ । भविष्यमा संघीय संसदले तयारी गरिरहेको छ । त्यहाँ पनि पेपरलेस हुन्छ । सरकारको लगानी जुन पेपरमा लाग्छ, त्योभन्दा धेरै सस्तो प्रविधिको प्रयोग गर्न सकिन्छ ।
सरकारी गाडीको दुरुपयोग रोक्नको लागि आफंैले ०७१ सालमा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउन खोजेको स्मरण गराउँदै निकट भविष्यमा उक्त प्रणाली लागू हुने मन्त्री पण्डितको भनाइ छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले ढुवानी सेवामा प्रालिको उक्त थालनीसँगै सामान ढुवानी क्षेत्रमा भएका समस्या तथा विसंगतिहरू न्यूनीकरण गर्न महत्वपूर्ण सावित हुने विश्वास दिलाए ।

उनले भने, “यातायात क्षेत्रमा भएका सबैखाले समस्या र विकृति तथा विसंगतिहरूको अन्त्यका लागि सरकार र निजी क्षेत्र दुवै मिलेर सहकार्य गर्नुपर्छ ।” उनले नयाँ प्रविधिसहित सुरु भएको यो सेवालाई आफूहरूको पूर्ण साथ र सहयोग रहने पनि प्रतिबद्धता जनाए ।
ई–ट्रान्सपोर्टेसन सर्भिस प्रालिका प्रवन्ध निर्देशक सन्तोष मण्डलले उक्त सेवाको उपयोगिताका बारेमा प्रकाश पारेका थिए । उनकाअनुसार उक्त प्रालिले मूलतः नेपालभरी कुनै पनि ठाउँबाट जुनसुकै ठाउँमा सामान ढुवानीसँग सम्बन्धित सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, उनले आफूहरूले यो सेवामार्फत निजी सवारी (गाडी) प्रयोगकर्तालाई लक्षित गरी जुनसुकै ठाउँमा गाडी बिग्रेको खण्डमा मर्मत सेवासमेत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
उनले भने, “यसका लागि सेवा प्रदान गर्ने यातायात व्यवसायी, चालक, सवारी मर्मत गर्ने वर्कसपहरू रजिष्ट्रर हुनुपर्ने छ र सेवा लिने अर्थात् सामान ढुवानी गर्ने कम्पनी वा व्यक्तिसमेत रजिष्ट्रर भएको हुनुपर्ने छ ।” देशैभरिका सेवाग्राहीहरूले रजिष्ट्रेसन गरेपछि सबै ठाउँमा सेवा सुचारु हुने उनले स्पष्ट पारे ।
उनले थपे, “अहिले सुरुवाती चरणमा रजिष्ट्रेसन भएका स्थानबाट मात्र सेवा प्रदान गर्दै लगिनेछ । यसलाई क्रमशः बढाउँदै लैजान सबैमा यो सरल सेवाबारे सबैमा जानकारी मिडियाहरूको महत्वपूर्ण साथ र सहयोगको अपेक्षा गरेका छौं ।”
कार्यक्रममा प्रालिका अध्यक्ष रामेश्वर मण्डलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन नविना श्रेष्ठले गरेकी थिइन् । उक्त सेवाको बारेमा मिडिया व्यवस्थापनको सम्पूर्ण काम भने ग्लोबल प्रोडक्शन प्रालिले गरेको हो ।