कारोबार संवाददाता
बुधवार, असार ४, २०७६
285

इलाम देउमाई नगरपालिका–२ का किसान घनश्याम खतिवडाले गत असोजमा उत्पादन भएको अलैंची बेचेका छैन । करिब चार मन अलैंची उत्पादन गरेका उनले भाउ बढ्ने आशामा अलैंची नबेचेको बताए । अलैंची रोप्दाको समयमा पाँच वर्षअघि प्रतिमन अलैंचीको मूल्य करिब १ लाख थियो । हाल उनी भन्छन् । “कति न के–के न होला भनेर लगाइएको अलैंची ऐले भाउ नभएरै मा¥यो ।” हुन त हाल पनि अलैंचीको भाउ नभएको भने हैन । तर, पहिलाको तुलनामा एक चौथाइ पनि भाउन नहुँदा किसानलाई अलैंचीको भाउ नभए झैँ लाग्छ । दैनिक भाउ ओरालो लागिरहेकाले गर्दा उनलाई चिन्ता छ । घरमै राख्दा पनि अलैंचीको तौल घटिरहने भएकाले पनि थप चिन्ता भएको उनी बताउँछन् ।
एक मन अलैंचीले एक वर्ष बढी चामलको जोहो र परिवारमा वर्षभरि लगाउने कपडा किनेर पनि पैसा उब्रिने गरेको किसान खतिवडाले सुनाए । तर, हाल एक मन अलैंचीले एक महिनाको परिवारको खर्च पनि चल्न नसक्ने उनको भनाइ छ ।

माइजोगमाई गाउँपालिकाका अलैंची व्यापारी मोहन पोख्रेलले पनि दुई वर्ष अघिबाट खरिद गरेको अलैंची बेचेका छैनन् । अलिक भाउ बढ्ला र अलैंची बेच्ने आशामा रहेका उनले भाउ बढ्नुको साटो भाउ घट्दै गएको मात्र खवर सुन्ने गरेका छन् । “अब त भाउ बढ्ला कि भन्यो झनझन भाउ घटेको मात्र सुनाउँछन्,” उनले भने ।
उनीहरूजस्ता धेरैले अलैंची बेचेका छैन् । कारण हो कम भाउ । अलैंचीको भाउ कम कम हुँदा जिल्लाका धेरै किसान तथा व्यापारीहरूले अलैंची बेचेका छैनन् ।
इलामसहित पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको मूल्यमा निरन्तर गिरावट आएसँगै यहाँका किसान तथा व्यापारीहरूमा निराशाा पैदा भएको छ । उत्पादनमा वृद्धि हुनु र भारतको एकाधिकार बजार भएका कारण वार्षिक रूपमा नै मूल्यमा गिरावट आएका हो ।
पाँच वर्षअघि प्रतिमन १ लाख ४० हजार भन्दा मूल्यसम्ममा बिक्री भएको अलैंची हाल २२ देखी २८ हजार प्रतिमन खरिद बिक्री भइरहेको छ । दैनिकजसो नै भाउ घटबड भइरहेको हुन्छ ।
जिल्लाको मुख्य नगदे बालीको रुपमा रहेको अलैंचीको हालको मूल्य १० वर्ष यताकै कम भएको व्यापारीहरू बताउँछन् । १२ महिनै अलैंची खरिद बिक्री भइरहन्छ ।
यस सिजनको सुरुमा पनि प्रतिमन अलैंचीको मूल्य ३२ हजार रुपैयाँ थियो । भाउ बढ्छ भन्ने आशाले घरमा नै थन्क्याइएको अलैंचीको मूल्य निरन्तर गिरावट भइरहेको माइजोगमाईका व्यापारी मोहन पोख्रेलले बताए ।
गत वर्ष उत्पादन भएको अलैंची किसानले घरमै थन्क्याएका छन् । ब्यापारीहरूले खरिद गरेको अलैंची पनि गोदाममा नै थन्क्याएको बताएका छन् । यस वर्षको सुरुमा पनि व्यापारीहरूले पनि प्रतिमन ३२ हजारसम्मले खरिद गरेको अलैंची भाउ बढ्ने आशाले हालसम्म गोदानमा नै थन्क्याएको अलैंची व्यवसायी महासंघका केन्द्रीय सचिव मात्रिका घिमिरेले वताए । देउमाई नगरपालिकास्थित मंगलबारे बजारका व्यापारीसमेत रहनु भएका व्यापारी घिमिरेले उत्पादन बढ्दै जाँदा भाउ घट्नु स्वभाविक नै रहेको बताए । उनले महंगो मुल्यमा खरिद गरेको अलैंची भाउ घटेपछि बेच्न नसकेको बताए ।
अलैंची असार अन्तिमबाट बजारमा आउँछ । औल क्षेत्रमा छिटो र लेक क्षेत्रमा मंसिर महिनासम्ममा मात्र अलैंची सुकाएर तयार हुन्छ । अलैंची कारोबार हुने मुख्य सिजन असोज, कात्तिक हो । त्यस महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखेको अलैंची सिजनको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै बेच्नुपर्ने बाध्य आएको किसानहरू बताउँछन् ।
गत वर्षदेखि अलैंचीमा विभिन्न खालको प्रकोपसमेत देखा परेको छ । नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो । तर, नेपाल र भारत दुवै देशमा अलैंचीको उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम नरोकिएको अलैंची व्यवसायी बताउँछन् ।
अलैंची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । जिल्लाका १० स्थानीय तहमा व्यावसायिक रूपमा अलैंची खेती हुँदै आएको छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची हाल जिल्लामा १६ सय हेक्टर जग्गामा अलैंची खेती हुने गरेको अलैंची विकास केन्द्र फिक्कलको तथ्यांक छ । अलैंची बढी उत्पादन भएपछि भाउ घटेको विज्ञको भनाइ छ । पर्याप्त अलैंची भारतका विभिन्न भूभागमा नै उत्पादन हुनु, अलैंचीमा नक्कली अलैंची (चुरुम्फो) मिसाइएको लगायतका कारण पनि यस्तो समस्या आएको ब्यापारीहरू बताउँछन् ।
अलैंची प्रशोधन गर्ने उद्योग नेपालमा नै नभएका कारण पनि नेपालको अलैंचीको मुख्य बजार भारत नै हो । भारतसँग बजारको भर पर्दा र यसको विकल्क नखोजिँदा समस्या रहिरहनेछ ।
अलैंची व्यवसायी महासंघका केन्द्रीय सचिव घिमिलेले गएको वर्ष ७ अर्ब माथिको अलैंची निर्यात भएको वताए । उनका अनुसार त्यस अगाडि पाँच अर्व वढिको कारोवार भएको थियो । यस वर्ष धेरै किसान र व्यापारीले अलैंची बजारमा ननिकालेको उहाँले बताए । यस वर्ष भाउ घटेपनि अलैंची निर्यात भएर आउने रकम भने नघट्ने उनको भनाइ छ ।