कारोबार संवाददाता
आइतवार, असार १, २०७६
359

काठमाडौं । विश्व अर्थतन्त्रको शक्तिशाली केन्द्र बेलायत खासगरी विभिन्न समयमा ठूल्ठूला उतारचढावको साक्षी बनेको छ । सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी होस् वा पछिल्लो समयको बे्रक्जिट गतिरोध नै किन नहोस्, बेलायती अर्थतन्त्रले विभिन्न चुनौतीको सामना गर्दै आइरहेको छ ।
१९ औं शताब्दीको औद्योगिक क्रान्तियता निरन्तर विकासको गति समातेको अर्थतन्त्र दोस्रो विश्वयुद्धका कारण केहि शिथिल भयो । तर सन् १९७० को दशकमा प्रधानमन्त्री मार्गरेट थ्याचरको नीजिकरण नीतिसँगै पुनः जुर्मुराएको बेलायत त्यसयता विभिन्न सामग्री उत्पादन, कृषि, प्राकृतिक श्रोत, वित्त व्यवस्थापन लगायत विषयमा केन्द्रित छ ।

बेलायतले कसरी आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न सफल रह्यो भन्ने कुरा पक्कै पनि नेपालले पनि सिक्न सक्छ । यही सेरोफेरोमा बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ व्यवस्थापनका जानकार विकलचन्द्र आचार्यको पुस्तक ‘बेलायतको वित्तीय अवलोकन’ सार्वजनिक गरिएको छ । पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिङ इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउण्ड स्टर्लिङको अवस्था, सम्पत्ति शुद्दिकरण, बिमा, ब्रेक्जिट, औद्योगिक क्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रका विविध विषय समावेश छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पुस्तक विमोचन गरे । बेलायतको वित्तीय अवधारणा समेटेर लेखिएपनि नेपाली सन्दर्भ जोडिएकाले पुस्तक निकै उपयोगी रहेको क्षेत्रीले बताए ।
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुस्तकमाथि टिप्पणी गरेका थिए ।
बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर २०५० मा बेलायत पुगेका लेखकले शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका छन् । यसअघि आचार्यका ‘लन्डनमा मुटु दुख्दा’, ‘कोरोनरी मुटुरोग’, ‘बेलायती आँगनमा गोर्खाली सुवास’ र ‘मोह’ गरी चार कृति प्रकाशित भइसकेका छन् । लेखक ब्रिटिश मेडिकल जर्नालिस्ट एसोसिएसनका सदस्यसमेत हुन् ।