कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
325

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले युवा उद्यमीहरूलाई राजनीतिमा लाग्न सल्लाह दिएका छन् । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले ‘बाबुराम भट्टराईको आखाँबाट नेपाल’ भन्ने शीर्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग परिसंघ सचिवालयमा गरेको अन्तरक्रियामा उनले उक्त सल्लाह दिएका हुन् ।
सो अन्तरक्रियामा पूर्वप्रधानमन्त्री भट्टराईका प्रमुख सल्लाहकार प्रशान्त सिंह पनि उपस्थित थिए । अन्तरक्रियाको मुख्य उद्देश्यपूर्व प्रधानमन्त्री भट्टराईको राजनीतिक जीवनको अनुभव र उनले नेपालको अबको भविष्य कस्तो देख्नुहुन्छ भन्ने कुरा सुन्ने थियो ।

अन्तरक्रियामा उनले राजनीति व्यापार तथा उद्योगबाट अलग नरहेकोमा जोड दिँदै युवा उद्यमीहरूलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह समेत गरेका हुन् । नेपाल किन बाँकी विश्वभन्दा धेरै पछाडि परेको भन्ने युवा उद्यमीहरूको प्रश्नमा पूर्वप्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक तथ्यहरूलाई उल्लेख गरे । उनले भने, “१८ औँ शताब्दीमा नेपाल २५ वटा विकसित देश भित्रपथ्र्यो । तर, शाह तथा राणा शासनकालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोरदोहोर नहुँदाप्रगति रोकिन पुग्यो । तर, अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।”
चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देशबीचको गतिशील पुलको रूपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उनले उल्लेख गरे । चीनसँगको सम्बन्धले महत्व राखे पनि भारतसँगको ऐतिहासिक, भौगोलिक सांस्कृतिक र आर्थिक सम्बन्धले भारतसँग नेपाल थप नजिक रहेको पनि पूर्वप्रधानमन्त्री भट्टराईले बताए ।
उनले निर्वाचित राष्ट्रपतीय प्रणालीले नेपाललाई फाइदा पुग्ने आफ्नो विश्वास रहेको पनि महत्वका साथ उल्लेख गरे । छलफलका क्रममा नेपालको भविष्य सकारात्मक रहेकोमा पूर्वप्रधानमन्त्री भट्टराईको जोड थियो ।
कार्यक्रमको प्रारम्भमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले डा. भट्टराईको स्वागत गर्नु हुँदै देशको हातमा उद्योग व्यवसायको वस्तुस्थितिबारे परिसंघको धारणा व्यक्त गरे ।