सागर परियार
बुधवार, जेठ २९, २०७६
792

जुम्लामा साना ठूला गरी झन्डै पाँच दर्जन होटल सञ्चालनमा छन् । नाफा कमाउने उद्देश्यले सञ्चालित अधिकांश होटलले खाद्य स्वच्छताको न्यूनतम मापदण्ड पनि पुरा नगरेको पाइएको छ । खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्टको स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा साना ठूला सबै होटल रेस्टुरेन्टले खाद्य स्वच्छताका न्यूनतम मापदण्ड पुरा गरेको हुनुपर्ने व्यवस्था छ ।
सोहीअनुसार जुम्लाका केही ठूला तथा लाखौंको कारोबार गर्ने होटलको सरोकारवालाले अनुगमन गरे । निर्देशिकाले व्यवस्था गरेअनुसार होटलको स्तरीकरण मापन गर्न, खाद्य स्वच्छताका मापदण्ड पूुरा गरेको थाहा पाउन, फारामसमेत भरियो, फर्ममा उल्लेखित विभिन्न प्रश्नका आधारमा न्युनतम मापदण्ड पुरा गरेको भए कम्तिमा पनि ४० प्रतिशत पुरा भएको हुुनुपर्ने हुन्छ ।

तर जुम्लाका ९ वटा ठूला होटलमा गरिएको अनुगनमा भने अधिकांशले ४० प्रतिशत मापदण्ड पनि पुरा नगरेको भेटियो । प्राप्त अंकका आधारमा होटलको स्तरीकरण निर्धारण गर्न (सामान्य, उत्तम र अतिउत्तम)का आधारले स्टीकर टाँस्नेसमेत व्यवस्था छ । ९ वटा होटल मध्य २ होटलले उत्तम र एक होटल सामान्य स्तरीकरणमा परेका छन् भने, बाँकी होटलहरूले मापदण्ड अनुसारको अंकनै ल्याउन सकेनन् ।
मानसरोवर होटल, रिग्मो होटल, दौतरी होटल, अम्मर सन्देश होटल, नेवा किचन होटल र स्टार होटलले ४० प्रतिशत अंक नै ल्याउन सकेनन् । दैनिक सयौंको भिड हुने, तालिम सेमिनार चल्ने ठूलो होटलकै यस्तो अवस्था रहेको भेटिएपछि अन्य होटलको अवस्था झन् कमजोर रहेको आंकलन गर्न सकिन्छ ।
जुम्लाका नौ वटा ठूला होटलमा गरिएको अनुगमनबाट तीन होटल मात्रै मापदण्ड अनुसारको स्तरीकरणमा परेका छन् । निर्देशिका उल्लेख गरिएका झन्डै २० भन्दा माथिका न्यूनतम मापदण्ड पुरा गरि ७० प्रतिशत भन्दा माथि अंक ल्याएर कान्जिरोवा टुरिजम होटल र पौवा होटल उत्तममा परेका छन् भने, होटल सुन्दर रारा–कर्णाली सामान्यमा परेको छ ।
तीनै होटलमा सोमबार प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख अमित भूषण शाहले स्तरीकरणका स्टीकर टाँसेका छन् । उत्तम अंक ल्याएका कान्जिरोवा र पौवा होटलमा (दुई)वटा स्टार रहेको स्टीकर र सामान्य स्तरीकरण भएको सुन्दर रारा कर्णाली होटलमा (एक) स्टार भएको स्टीकर टाँसिएको छ ।
जुम्लाका तीन वटा होटलले मात्रै न्यूनतम मापदण्ड पुरा गर्नु आम उपभोक्ताका लागि सचेत रहनुपर्ने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी दुुर्गा बञ्जाडेले बताइन् । उनले भनिन, “बजार अनुगमनलाई निरन्तरता दिँदै, उत्तममा परेकालाई अत्ति उत्तममा लिने, सामान्यलाई उत्तममा ल्याउने र बाँकीलाई जागरुक बन्न सुझाव दिइने छ ।”
तेस्रो पटक सम्मको अनुगमनमा पनि सामान्य स्तरीकरण सम्म नपुगेका होटललाई निर्देशिका अनुसारको कारबाही प्रक्रिया अघि बढाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका गुण नियन्त्रक अधिकृत अमित भुषण शाहले बताए । यता कान्जिरोवा होटलका सञ्चालक नुर्वु लामाले भने चाँडै अति उत्तममा पर्नका लागि मापदण्ड कार्यान्वयनमा जोड दिने प्रतिबद्धता गरे ।