कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
264

दुई तिहाईको सरकारले पनि उद्योगीका माग सम्बोधन गर्न नसकेको विराटनगरका उद्योगीहरूले गुनासो गरेका छन् । उनीहरूले सहज रूपमा काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह पनि गरेका छन् । सरकारले उद्योगलाई कुनै प्रकारको बन्देज नलगाई सहज वातावरणमा काम गर्न दिनुपर्ने सोमबार विराटनगरमा भएको उद्योग संगठन मोरङको ४७ औं वार्षिक साधारणसभाका सहभागीहरूले बताएका हुन् ।
कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थिति रहेको कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बैंकको बढ्दो ब्याजदर घटाउन, उद्योगले प्रयोग गर्ने डिजलमा मूल्य अभिवृद्धि करमा साविकको व्यवस्था यथावत् राख्न माग गरे । उनले भारतको मिरगन्ज पुलको समस्या कूटनीतिक तबरबाट समाधान गरिदिन पनि माग गरे । विराटनगरको मुख्य नाकाक भनेको जोगवनी हो उनले भने तर फरबीसगन्जदेखि विराटनगरसम्मको भारतीय सडक र त्यहाँको पुल स्तरीय नहुँदा हामीहरूलाई समस्या भइरहेको छ । यसलाई सरकारले कूटनीतिक पहलबाट समाधान गरियोस् । घिमिरेले लोडसेडिङ हटे पनि लो भोल्टेज समस्या यथावत् रहेको भन्दै यसको तत्काल समाधान गरिदिन आग्रह गरे । यस्तै मोरङको कटहरीका स्थानीयले अबरुद्ध गरेको विद्युत् प्रसारणलाई बल प्रयोग गरेरै भए पनि समाधान गरिदिन आग्रह गरे । दुई तिहाइको सरकारबाट धेरै आशा गरिएको बताउँदै अध्यक्ष घिमिरेले बैंक ब्याजदर घटाउन भनेर प्रधानमन्त्रीले दिएको निर्देशनसमेत कार्यान्वयन नहुन दुःखद् भएको बताए ।

उनले जनताको दुई तिहाईको सरकारले बैंक ब्याजदर सिगल डिजिट बनाउन पहल गर्नुपर्नेमा जोड दिए । दुई तिहाईको सरकारलाई काम गर्न कुनै अप्ठ्यारो देखिँदैन उनले भने अब पनि कर्मचारी अभाव वा समन्वय भएन भनेर पन्छिन यो सरकारले पाउँदैन जनतामा सुशासनको अनुभूति हुन सकोस् । उनले आशा गरिएको सरकारको समयमा प्रजा रैती नभई आफूहरूलाई जनताको अनुभूति हुने अवसर दिनुपर्नेमा जोड दिए । देश विकासका लागि अब उद्योगी र राजनीतिक पार्टी सच्चिनु पर्ने उनले बताए ।
तरलताको अभाव कम गर्नुपर्ने र पुँजी खर्च बढाउन जरुरी बताउँदै घिमिरेले आगामी वर्ष पुँजी खर्च शतप्रतिशत खर्च भएको सुशासन भएको भन्ने बनाउन आग्रह गरे । यस्तै उद्योगी मोती दुगडले उद्योग, व्यवसायलाई दुःख दिइने प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै कुनै बाधा बिना व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरे । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरलाई संघीय सरकारले हेर्ने दृष्टिकोण पक्षपाति रहेको भन्दै विराटनगरका लागि संघीय सरकारले दिइएको बजेट कम रहेको बताए । ऐतिहासिक नगरी विराटनगरका लागि यस पटकको बजेटमा कुनै कार्यक्रम परेनन् उनले भने प्रदेश १ को एक मात्र महानगरपालिकालाई अन्याय गर्न भएन ।
कार्यक्रममा बोल्दै कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले उद्योगीहरूका समस्या बुँदागत रूपमा ल्याउन आग्रह गर्दै आफू समस्या समाधान गर्न लागि पर्ने बताए । उनले सरकारले चुनावी घोषणापत्रमा बोलेका कुराहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योगमैत्री नीति तथा कार्यक्रमका साथ सरकार अगाडि बढेको स्पष्ट पारे । कार्यक्रममा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राईलगायतले तिनै तहका सरकारकाबीच समन्वय गरेर उपयुक्त नीति तथा कार्यक्रममका साथ आर्थिक र औद्योगिक विकासमा जुट्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।