मनिषा चम्लागाईँ
मंगलबार, जेठ २८, २०७६
2468

छिमेकी देश भारतको बिहार र पश्चिम बंगाल राज्यको व्यापारिक हब हुने सम्भावना बोकेको झापाको बिर्तामोड बजार प्रदेशमै द्रुत गतिमा वृद्धि हुँदै गरेको सहर हो । बंगाल र बिहारबाट बिर्तामोड आउन १६ किलोमिटरको दूरी पार गरे पुग्छ । साविक मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड तीब्र गतिमा सहरीकरणतर्फ उन्मुख हुँदै गइरहेको छ । पूर्व–पश्चिम जोडने महेन्द्र राजमार्गले बीचमा चिर्ने यो बजार पूर्वको मात्र नभएर देशकै महत्वपूर्ण व्यापारिक केन्द्र हो ।
१ लाख ४६ हजार जनसंख्या रहेको बिर्तामोड नगरपालिकामा आर्थिक वर्ष २०७४-०७५ मा १ हजा ३ सय १९ घर निर्माण भएका छन् । जुन प्रदेशको अन्य सहरको तुलनामा बढी हो । चालू आर्थिक वर्षको वैशाखसम्ममा ६ सय ५० बढी घर निर्माण भइसकेको भवन निर्माण तथा घर नक्सा शाखा बिर्तामोडले जनाएको छ । तिब्र सहरीकरणको सम्भावना रहेको सुदूर पूर्वको शहर बिर्तामोडमा १० हजार व्यापारी रहेको उद्योग वाणिज्य संघ बिर्तामोडको तथ्यांकले देखाउँछ । मिश्रित जनसंख्या रहेको बिर्तामोडलाई बहुजातीय व्यावसायिक केन्द्र भन्ने गरिन्छ । सबैभन्दा पहिला २०१८ सालमा महेन्द्र राजमार्गको रेखाङ्कन भएसँगै बिर्तामोडमा टहरामा चिया पसल सञ्चालनमा आएको मेची क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुख (७७ वर्षिय) लोकनाथ पौडेल बताउँछन् ।
इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र झापाकै अन्य ठाउँका मानिसले २०३० सालपछि बिर्तामोडलाई किनमेल गर्ने थलोका रूपमा विकास गरेको पौडेलको भनाइ छ । पौडेल २०१६ सालमा इलामबाट शनिश्चरे आएको बताउँछन् । “मैले जान्दा बिर्तामोडको जन्म नै भएको थिएन, नेपालका विभिन्न जिल्लाका मानिस कामको खोजीमा शनिश्चरेबाट काँकडभिट्टा नाका हुँदै भारत जान्थे,” पौडेलले भने, “२००७ सालमा प्रजातन्त्र आए पनि गाँस, वास र कपासको प्रबन्धका लागि चौकीदार, भैँसीपालन गर्न आसाम पुग्नु पथ्र्यो, जीवनयापन एकदमै कष्टकर थियो ।” बिर्ताबजारमा भने २०१८ सालमा नै व्यापार सञ्चालनमा थियो । शनिश्चरेबाट बिर्ताबजारको गोरेटो बाटो हुँदै भद्रपुर पुग्ने गरेको विगत पौडेलले सम्झे ।
शनिश्चरेका रघुवीर विष्टले २०२२ सालमा शनिश्चरे, बिर्तामोड र भद्रपुर कुद्ने ट्याक्सी ल्याएसँगै यस क्षेत्रका मानिसले पहिलो पटक सवारीसाधान देखेको पौडेलले बताए । “गाडी कसरी कुद्छ भनेर हेर्न बाटोसम्म हामी जान्थ्यौँ, त्यस समयमा यस क्षेत्रमा एउटामात्र गाडी थियो, २०३५ सालपछि भने फाट्टफुट्ट रिक्सा कुद्न थाले,” पौडेलले भने । २०३५ सालसम्म बिर्तामोडको मुक्तिचोक आसपास पानीको सुविधा हुने ठाउँमा धान र केही अग्लो भागमा सनपाटको खेती हुने गथ्र्यो । भद्रपुर जाने गोरेटो एक्लै हिँडदा सतर्क हुनुपर्ने सुनसान ठाउँ थियो । ०३५ सालपछि पहाडबाट झरेका केही र स्थानीय धिमाल, राजवंशी, सत्तार, समुदायका मानिसको बसोबास थियो । शनिश्चरे, भद्रपुर, बिर्ताबजार बस्ने मानिसहरु यो थलोलाई दुर्गम मान्थे ।
बिर्तामोडको प्राचिन नाम देवीबस्ती रहेको पौडेलले सुनाए । सबैभन्दा पहिले देवीप्रसाद उप्रेती, रामबाबु प्रसाईं, भरतबाबु प्रसाईं, शेरबहादुर पोखरेले बसोबास सुरु गरेका थिए बिर्तामोडमा । त्यस पश्चात इलामबाट बस्नेत परिवार आएर बसोबास गर्न थालेको पौडेल सम्झन्छन् । पहाडमा शिक्षा, स्वास्थ्य, यातायात, सामाजिक सुरक्षाको असुविधाले मानिसहरु थाकथलो छाडेर तराई झर्नु नै बिर्तामोड विकासको आधार तयार हुनु पौडेलको भनाई छ । अहिले सम्भवतः बिर्तामोड पूर्वकै महँगो सहरमा पर्छ ।
पूर्व र पश्चिमबाट आउने मानिसहरु बिर्ताबजार तिर मोडिने ठाउँ भएकाले उक्त स्थानको नाम नै बिर्तामोड रहेको जानकार बताउँछन् । तर, अहिले बिर्ताबजारको अस्तित्व पनि बिर्तामोडमा नै बिलिन भैसकेको छ । २०२० सालदेखि बिर्तामोडमा बस्दै आएका जितेन्द्र बस्नेत महेन्द्र राजमार्गको बाटो खुलेसँगै यातायातको विकास सुरु भएको बताउँछन् । “हजुरबुबाकै पालादेखि हामी बिर्तामोडमा बसोबास गर्दै आएका छौँ,” बस्नेतले भने, “हजुरबुबाले दुई सय विगाहा जग्गा, नौ सय रुपैयाँमा किनेको सुनाउनुहुन्थ्यो, उक्त जग्गाको मूल्य अहिले धुरको १० लाख रुपैयाँमा कारोबार हुँदै आएको छ ।” बस्नेतले अहिले दुई करोडको लगानीमा पर्यटक स्तरीय टाइमलेस मोमेन्ट नामको होटल सञ्चालनमा ल्याएका छन् । “अन्य स्थानको विकास यतिछिटो भए जस्तो मलाई लाग्दैन, तर, बिर्तामोडको विकास खरायोको गतिमा भयो,” बस्नेतले भने, “काँकडभिट्टा र गलगलिया नाकादेखी छोटो दूरीमा पर्ने भएकाले सबै मानिसको रोजाइमा बिर्तामोड पर्न सफल भयो ।”
बिर्तामोडमा १० हजार व्यापारी रहेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । त्यसमा ३ हजार मझौला तथा खुद्रा व्यवसायी रहेको भट्टराईको भनाइ छ । पूर्वका जिल्लामा उत्पादित नगदेबाली चिया, अलैंची, अदुवा, कुच्चो, सुपारीलगायतका बाली भण्डार गर्ने मुख्य थलो बिर्तामोड बनेको छ । बिर्तामोडमा नै प्रदेश–१ का १४ जिल्लालाई समेट्ने गरी अलैंची व्यवसायी महासंघको केन्द्रीय कार्यालय छ ।
बिर्तामोडमा ‘क’ वर्गका २७ वटा र १० वटा विकास बैंक सञ्चालनमा छन् । काठमाडौंमा भएका अधिकांश बैंक बिर्तामोडमा रहेको एक्सेल डेभलपमेन्ट बैंक बिर्तामोडका कार्यकारी निर्देशक दिनेश पोखरेलले जानकारी दिए । यहाँ सञ्चालित बैंकको निक्षेप १६ अर्र्बभन्दा बढी र कर्जा ३५ अर्बभन्दा बढी रहेको तथ्यांक छ । बिर्तामोड नगरपालिका भित्र स्थानीय सरकार मातहतका ३६ वटा र प्रदेश सरकार मातहतका ९९ वटा सहकारी सञ्चालनमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भानु दङ्गालले बताए ।
बिर्तामोड–३ मा रहेको विराटपोखरीले बिर्तामोडको धार्मिक महत्वलाई झल्काउने गरेको छ । महाभारतकालीन ग्रन्थका अनुसार विराट राजाले गाई चराउँदा पानी खुवाउने पोखरी रहेकाले उक्त क्षेत्र विराटपोखरीका नामले चिनिदै आएको छ । २०७१ सालमा साविक अनारमनी गाविस र चारपाने गाविस गाभिएर बनेको बिर्तामोड नगरपालिकाको क्षेत्रफल ७८.२४ वर्गकिलोमिटर रहेको छ । बिर्तामोडलाई झापाको मुटु पनि भनिन्छ । पहिले अनारमनी गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेठ चार गतेदेखि नगरपालिकामा परिणत भएको हो ।
बिर्तामोडमा उच्च स्तरको स्वास्थ्य सेवा उपलब्ध हुन थालेको छ । सुविधासम्पन्न अस्पताल स्थापना तथा गुणस्तरीय उपचार सुरु भएसँगै भारत रेफर हुने बिरामी रोकिएका छन् । उपचारका लागि बिर्तामोडमा छिमेकी देशबाट आउने बिरामीको संख्या प्रत्येक दिन बढ्दो छ । बिर्तामोडमा नेपाल सहित, भारतको पश्चिम बंगाल, आसाम, मनिपुर, नागाल्याण्ड, बिहार, सिक्किमलगायतका स्थानबाट उपचारका लागि बिरामीहरु आउने अस्पतालले जनाएका छन् । मानसिक, हाडजोर्नी, नसा, मुटुलगायतका जटिल उपचार बिर्तामोडमै हुन थालेको हो । अत्याधुनिक उपकरण तथा ख्यातीप्राप्त चिकित्सकको सेवाले बिर्तामोडमा उपचार गर्नका लागि बिरामी तानिरहेको अस्पतालको दाबी छ ।
२०६१ सालमा डा.सीपी यादवको सक्रियतामा कञ्चनजंगा अस्पताल स्थापना भएसँगै बिर्तामोडमा निजी एवम् सामुदायिक अस्पताल खुल्ने क्रम बढेको हो । यससँगै अस्पतालमा निजी क्षेत्रको लगानी पनि बढेको छ ।
बिर्तामोडमा ठूलो लगानीमा व्यवसायिक मल सञ्चालनमा आएका छन् । वानस्टप मल, हनुमान कम्प्लेक्स, मेघा कम्प्लेक्स, खड्का कम्प्लेक्स बिर्तामोडमा सञ्चाललित ठूला मल हुन् । बर्तामोडमा किनमेलका लागि छिमेकी देश भारतको पश्चिम बंगाल, बिहार, प्रदेश –१ का उदयपुर, धनकुटा, पूर्वी पहाडका ताप्लेजुङ, पाँचथरलगायत जिल्लाबाट ग्राहक आउने गरेको बिर्तामोडका व्यापारी पवन खतिवडा बताउँछन् । झापाबाट प्रकाशन र प्रसारण हुने ८० प्रतिशत सञ्चार माध्यम बिर्तामोड केन्द्रित छन् । बिर्तामोड जिल्लाको केन्द्र र व्यापारिक थलो भएकाले अधिकांश सञ्चार माध्यम बिर्तामोड केन्द्रित रहेको पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी बताउँछन् । बिर्तामोडबाट पाँचवटा दैनिक र चार वटा साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको गिरीको भनाइ छ ।