कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
317

रुपन्देहीका मैदा तथा आटा उद्योगीहरूले सरकारले हालैको बजेटमार्फत आटा र चक्की आटामा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएकोमा पुनर्बिचार गर्न आग्रह गरेका छन् । फ्लोर मिल एसोसिएसन रुपन्देहीमा आबद्ध ११ वटा मैदा उद्योहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दैनिक रूपमा नेपालीहरूले रोटी बनाउन प्रयोग गर्ने खाद्यवस्तुहरूको रूपमा रहेको आटा र चक्की आटालाई मूल्य अभिवृद्धि कर(भ्याट) लगाउनु आश्चर्यजनक रहेको बताएका छन् ।
उनीहरूले आटा तथा चक्की आटा नत कुनै उद्योगमा कच्चा पदार्थका रूपमा प्रयोग हुने नत ठूलै परिमाणमा नै खरिद हुने सामानका रूपमा समेत नरहेको र १ किलोदेखि ५ किलोको प्याकेटमा मात्र बिक्री हुने नितान्त खाद्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाउँदा आम उपभोक्ता थप महँगो र मर्कामा पर्ने जनाएका छन् ।

बजेटमार्फत आटा र चक्की आटामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) मा सरकारले पुनर्विचार गरी सर्वसाधारण जनताप्रति उत्तरदायी बन्न उनीहरूले आग्रह गरेका छन् । आटा र चक्की आटामा लगाएको मूल्य अभिवृद्धि करका विषयमा सरकारले पुनर्बिचार गर्नुपर्छ, यो नितान्त स्वदेशी उत्पादन हो र आम नेपालीले खाद्य वस्तुको रूपमा दैनिक रूपमा प्रयोग गर्ने भएकाले पनि यो फिर्ता लिन हाम्रो आग्रह हो, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा मैदा उद्योगी उज्जवल कसजुले भने । आटा चक्की आटामा मूल्य अभिवृद्धि कर लगाउँदा प्रत्यक्ष असर उपभोक्तालाई पर्छ । त्यसैले यो विषयमा पुनर्बिचार गर्न हामी सबैको आग्रह हो ।
उद्योगीहरूले २ वर्ष अघिसम्म मैदामा लाग्दै आएको मूल्य अभिवृद्धि कर(भ्याट)को २५ प्रतिशत रिफन्ड (फिर्ता) पाउँदै आएकोमा गत वर्षदेखि भ्याट फिर्ता नहुने नियम बनाइसकेको छ ।
अहिले आएर आटा र चक्कीमा समेत मुअकर लगाउनु उद्योगी मात्र नभई किसान र आम सर्वसाधारण माथि प्रहार भएको व्यवसायीको भनाइ छ ।
राज्यले राजस्व संकलनमा बढी जोड दिदा हरेक चिजलाई कर संकलन गर्ने वस्तुका रूपमा हेर्न नहुने व्यवसायीको भनाइ छ । कर संकलन गर्न अन्य धेरै दायराहरू ल्याउन सकिन्थ्यो, तर अहिले आटा जस्तो दैनिक प्रयोजनको खाद्य वस्तुमा मुअकर लगाउँदा उपभोक्तानै मर्कामा पर्ने व्यवसायीहरूको भनाइ छ ।
रुपन्देहीमा दाउन्ने फ्लोर मिल्स, गोयनका फुड्स प्रालि, वेस्टन एग्रो, अरुण एग्रो, एसआर फुड्स, समृद्धि फुड्स, जगदम्बा फुडस, हिमगिरि फुडुस, घराना फुडुस, बुटवल फलोर मिल्स, तुल्सीपुर फ्लोर मिल्सलगायत उद्योगहरू छन् । दुई पुराना उद्योगहरू लुम्बिनी फलोर र सिद्धार्थ फुडुस अहिले बन्द अवस्थामा छन् । अर्बौं लगानी रहेका यहाँ फ्लोर मिलहरूले कच्चा पदार्थको रूपमा गहुँ स्वदेशकै ६० प्रतिशतभन्दा बढी खपत गरेका छन् । नपुग हुँदा भारतीय गहुँमा निर्भर हुनु परेको ब्यबसायीहरूको भनाइ छ । आटा र चक्की आटामा मुअकर (भ्याट) लगाउदा उपभोक्ता मूल्य बढन जाने र त्यस्को असर आम जनतामा पर्ने भएकाले पुनर्बिचार गरी हटाउनु पर्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेको भनाइ छ ।