प्रकाश लम्साल
सोमवार, जेठ २७, २०७६
4992

सरकारले ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेसँगै ढुवानी व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । फूलट्रिप ढुवानी सेवा, खुद्रा ट्रान्सपोर्ट, ढुवानी संघहरूले सरकारले भ्याट लगाउने निर्णय गरेकोप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरूले ढुवानी सेवामा भ्याट लगाइँदा मूल्यवृद्धि हुने दाबीसमेत गरेका छन् ।
यसअघि फूलट्रिप ढुवानी सेवा, खुद्रा ट्रान्सपोर्टहरू प्यानमा दर्ता भई ढुवानी भाडा तय गरीदिएर उद्योग तथा व्यापारीलाई मालवाहक सवारी साधन उपलब्ध गराउँदै आएका थिए । उद्योगहरूले पनि निजी मालवाहक सवारी साधन नहुँदा ढुवानी सेबाबाट मालवाहक सवारी भाडामा लिँदै आएका थिए ।

देशभर खुद्रा र फूलट्रिप ढुवानीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघले ढुवानीमा भ्याट हटाउन माग गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई पत्र लेख्दै महासंघले ढुवानी सेवामा भ्याट हटाउन र ज्यालाका लाग प्यान अनिवार्य गर्ने व्यवस्था पनि हटाउन माग गरेको हो । ढुवानीमा पनि भ्याट लाग्ने भएपछि उत्पादन बजारमा लैजान लागत बढ्ने र उत्पादनको मूल्य नबढाई उपाय नै नहुने उद्योग वाणिज्य संघले जनाएको छ ।
हालसम्म ढुवानी व्यवसायी करको दायरामा थिएनन् । आर्थिक वर्ष २०७६-७७ को बजेटसँगै ढुवानी सेवावापतको भ्याट बिल काट्नुपर्ने भएको छ । यसको भार उद्योग हुँदै उपभोक्तामाथि नै थोपरिने निश्चित जस्तै छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले ढुवानीमा लगाइने भ्याट आफूहरूले तिर्न नसक्ने बताए । उनले ट्रान्सपोर्ट कम्पनीमार्फत सामान ढुवानी गर्ने भएकाले बढेको कर उद्योगी–व्यवसायीले नै तिर्नुपर्ने बताए । “हामीले अहिले पनि २.५ प्रतिशत टिडीएस सरकारलाई तिरिरहेका छौं,” उनले भने, “भ्याट पनि हामीमाथि नै थोपरियो भने ढुवानी भाडा बढाउन बाध्य हुने छौं ।” उनले त्यसको असर व्यवसायीले ढुवानीमा भ्याट र अन्तःशुल्क बढेको भन्दै जथाभावी मूल्य बढाउने र देशभर हरेक वस्तुमा चरम मूल्यवृद्धि हुने बताए ।
आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले भने सेवा बिक्री गर्नेहरूले कर तिर्नुपर्ने बताए । उनले ढुवानी सेवा गरेर कमिसन खानेले अब कम्पनी खोलेर भ्याटमा जानुपर्ने बताए । ढुवानी व्यवसायमा पर्ने भएकाले भ्याट लगाइएको उनको भनाइ थियो ।
ढुवानी व्यवसायी महासंघका पूर्वउपाध्यक्ष हरी अधिकारीले सरकारले महंगी बढाउन ढुवानीमा भ्याट लगाएको जिकिर गरे । उनले ढुवानी व्यवसायीलाई उद्योगी व्यवसायीले १३ प्रतिशत भ्याट उपलब्ध नगरासम्म ढुवानीका लागि सवारीहरू पठाउन नसक्ने बताए । देशभर करिब ५ हजार खुद्रा तथा फूलट्रिप ढुबानी सेवा सञ्चालनमा रहेका छन् ।