कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६
164

सूचना तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वास ढकाल र डा. वीरेन्द्रराज पोखरेललाई गोपाल कमला राजभण्डारी रोटरी सम्मान गरेकी छिन् । राष्ट्रपति निवास शीतल निवासमा मंगलबार आयोजित सम्मान कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा तथा रोटरी डिस्ट्रिक गभर्नर चिन्तामणि भट्टराईलगायत विशिष्ट व्यक्ति उपस्थित थिए ।
प्रविधिमार्फत सहज, सहुलियतपूर्ण तथा सुरक्षित वित्तीय सेवा प्रदान गर्न तयार पारेको प्रणालीका लागि ढकाललाई सम्मान गरिएको थियो । उनले सन् २००६ मा ई–सेवाको परिकल्पना गरेर नेपालमा डिजिटल वालेटको सुरुवात गरेका थिए । ढकाल अहिले ई–सेवाको मातृसंस्था एफवान सफ्टका अध्यक्ष छन् । यो कम्पनीले मोबाइल बैंकिङ सेवामार्फत ७० लाखलाई वित्तीय सेवामा सहज पहुँच दिएको छ ।

सम्मान ग्रहण गरेपछि अध्यक्ष ढकालले भने, “यो सम्मानका लागि म धन्यवाद दिन चाहन्छु, यसले मलाई राष्ट्रपति अझ उत्तरदायी बन्न प्रेरणा दिएको छ ।” उनले सम्मान कार्यक्रममा उपस्थित आफ्नो टिमका सदस्य असगर अलि, सुवास शर्मा र सुवास सापकोटालाई पनि धन्यवाद दिए ।
यस्तै, दृष्टिविहीनहरूका लागि जापानमा रहँदा कम्प्युटर र एन्ड्रोइड मोबाइल फोनमार्फत अध्ययन गर्न मिल्ने प्रविधि विकास गरेकोमा पोखरेललाई सम्मान गरिएको थियो । पोखरेल आफैं पनि दृष्टिविहीन छन् । उनले भने, “यो सम्मानले मलाई उत्प्रेरणा र शक्ति प्रदान गरेको छ । यो सम्मानसहित प्राप्त वित्तीय सहयोगले मेरो आफ्नो प्रविधिलाई ग्रामिण भेगसम्म विस्तार गर्न र दृष्टिविहीन बच्चाहरूलाई सघाउन सहयोग पुग्नेछ ।”
स्वर्गीय रोटरियन गोपाल राजभण्डारीको स्मृतिमा प्रत्येक दुई वर्षमा उत्कृष्ट व्यावसायिक नेतृत्व तथा संस्थालाई १० लाख रुपैयाँ राशिको यो अवार्ड प्रदान गरिँदै आएको छ । ढकाल र पोखरेललाई ५ लाख रुपैयाँका दरले यो पुरस्कार राशि वितरण गरिएको थियो ।
यस पहिले यो अवार्डबाट धुलिखेल अस्पतालका अध्यक्ष डा. रामकण्ठ मकाजु, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्मा, संस्कृतिविद् सत्यमोहन जोशी र प्रजनर एसिस्टेन्स नेपालकी अध्यक्ष इन्दिरा रानामगरलाई सम्मानित गरिसकिएको छ ।