कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६
144

नवलपुरको देबचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेशनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ । नेपाली कांग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले ब्यापक क्षति पुरयाए लगत्तै सहयोग उपलब्ध गराएका हुन् । जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छानो उडाएको छ भने घरहरूमा समेत क्षति पुरयाएको छ ।
“नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पुरयाएको असरबाट मर्माहत भएको छु । नवलपुरको वासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु,” सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भनिएको छ, “यो दुःख तपाईहरूको मात्रै नभएर मेरो पनि हो । हामी सबै मिलेर यसको सामना गर्नेछौँ ।”

बिहीबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको छ । नगरपालिकाको अध्ययन टोलीले हुरी पीडितका लागि तत्काल सबैभन्दा आवस्यकता जस्ता पाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीका लागि जस्तापाताको व्यवस्था मिलाएका हुन् । पीडितमध्ये पनि आर्थिक रुपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको छ । सांसद चौधरीले उपलब्ध गराएको सहयोग करिब १० लाख रुपैयाँ बराबर रहेको छ ।
जेठ ७ र ८ गते आएको हावाहुरीले देबचुली नगरपालिकाको सितावास, रामबास, मुण्डे, बिशालटार र लक्ष्मीपुर क्षेत्रका घर, गोठका छानो उडाएको छ । जसका कारण पीडितहरू चर्को गर्मी र हुरी वतासकाबीच खुला आकाशमा बस्नुपर्ने अवस्था छ । हुरीसँगै आएको असिनापानीले खाद्यान्न, लत्ताकपडा समेत भिजेको सिताबासका पीडित आशिष भुर्तेलले बताए । हावाहुरी र चर्को गर्मीको यस मौसममा छानो समेत उडाउदा स्थानीयवासीहरु बिचल्लीमा परेका छन् । देवचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुपराज पाठकले छानो उडाएका कारण विचल्लीमा परेका सर्वसाधरणलाई जस्तापाता उपलब्ध गराएर सांसद चौधरी नवलपुरवासीप्रति जिम्मेवार भएको सन्देश दिएको बताए ।
देवचुली नगरपालिकाका मेयर श्रेष्ठले सांसद एवं देशकै वरिष्ठ उद्योगपति बिनोद चौधरीले आफ्नो जिल्लावासीका लागि साँच्चिकै अभिभावकको जिम्मेवारी निर्वाह गरेको बताए । “सांसद विनोद चौधरी नवलपुरवासीको सुख दुःखमा हामीसँगै पाउँदा हामीलाई निकै उत्साह मिलेको छ,” मेयर श्रेष्ठले भन्नुभयो, “नवलपुरमा सीजी इन्डस्ट्रियल पार्क रहनुले हाम्रा लागि धेरै सकारात्मक योगदान पुगेको छ । हामी समस्यामा पर्दा हाम्रो साथी सीजी बन्दै आएको छ ।”