कारोबार संवाददाता
सोमवार, जेठ ६, २०७६
277


उद्घाटनका अवसरमा १० प्रतिशत छुट

भाटभटेनी सुपरमार्केटको १६ औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ । भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्धनिर्देशक मीनबहादुर गुरुङले शुक्रबार उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।

उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरिएको छ । भाटभटेनी ग्रुपकाअनुसार नयाँ आउटलेट विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ ।
उद्घाटनका दिन नयाँ आउटलेटमा सर्वसाधारणको बाक्लो भीड लागेको छ । नेपालको सहरी सपिङ कल्चरमा ट्रेन्डसेटर मानिने भाटभटेनी सहरमा सजिलो किनमेलको पर्याय बनिसकेको छ । त्यसले गर्दा नै नयाँ आउटलेट खुलेकै दिन सर्वसाधारणको भीड लागेको हो । दैनिक उपभोग्यवस्तु, गार्मेन्टलगायत घरायसी आवश्यकताका सबै सामान एकै ठाउँमा प्रतिस्पर्धी मूल्यमा पाइने हुँदा भाटभटेनीको लोकप्रियता दिनदिनै बढ्दै गएको हो ।
टंगालबाट सुरु भएको सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामा चुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगन्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजुमा यसअघि नै सञ्चालनमा आइसकेका छन् ।
उपत्यका बाहिर धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरमा भाटभटेनीका आउटलेट छन् । इटहरी, नेपालगन्जमा, भैहरवामा पनि निकट भविष्यमै आउटलेट खोल्ने योजना भाटभटेनी ग्रुपको छ ।