प्रकाश लम्साल
बिहिवार, जेठ २, २०७६
308

विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले बाराको सिमरास्थित सेजमा गार्मेन्ट प्रशोधन केन्द्रका लागि छुट्याएको स्थानमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । सेजले ए ब्लकमा रहेको ३४३ बिघामध्ये १६५ बिघा गार्मेन्ट प्रशोधन क्षेत्रका लागि छुट्याएको छ । सोही क्षेत्र उद्योगीलाई उपलब्ध गराउने गरी उद्योग स्थापनाका लागि सूचना जारी गरेको हो ।
प्राधिकरणले जारी गरेको सुचनामा विशेष आर्थिक क्षेत्रले उपलब्ध गराउने भौतिक पूर्वाधारहरू आन्तरिक सडक, विद्युत्, पानी, ढल, पेट्रोल पम्प, धर्मकाँटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक, बिमालगायत रहेका छन् । वैशाख १९ मा सेज प्राधिकरणले सूचना प्रकाशित गरी गार्मेन्ट प्रशोधन क्षेत्रमा उद्योग स्थापना र सञ्चालन गर्न प्रस्ताव माग गरेको हो ।

एक दशकअघि तत्कालीन उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले सिमरा सेजको उद्घाटन गरेको थिइन् भने प्रधानमन्त्री केपी ओलीले २०७४ चैत १८ मा सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको शिलान्यास गरेका थिए ।  वीरगन्ज चिनी कारखाना लिमिटेडको सिमरास्थित औराहामा रहेको ८ सय ३३ बिघालाई ५ ब्लकमा बाँडेर अहिले ब्लक ए मा पूर्वाधार निर्माण सम्पन्न भएको हो  । ए ब्लकमा ६८ वटा प्लट ३ हजारदेखि ५ हजार वर्गमिटरका रहेका छन् । जहाँ स्थापना हुने गार्मेन्ट उद्योगले ६० प्रतिशतसम्म निर्यात गर्नुपर्ने प्रावधान छ ।
प्राधिकरणले सूचना जारी गरेलगत्तै सिमरा सेजको गार्मेन्ट प्रशोधन क्षेत्रमा देशका विभिन्न क्षेत्रबाट ठूलासाना उद्योगीहरू दिनहुँजसो अवलोकनका लागि आउने गरेको सेज प्राधिकरणका सहायक इन्जिनियर अजय चौधरीले बताए । सेजभित्र ब्लक ‘ए’देखि ‘इ’सम्म उद्योग स्थापनाका लागि प्राधिकरणले पछिल्लो २ वर्षदेखि निर्माण कार्यलाई तिव्रता दिएको थियो । पहिलोपटक बहालअवधि बढीमा ३० वर्ष रहने र क्रमशः नवीकरण गर्न मिल्ने सुविधा छ भने भाडादर प्रतिमहिना प्रतिवर्गमिटर २० रुपैयाँ तोकिएको छ । सेजमा गार्मेन्ट उद्योग स्थापनाका लागि अमेरिकी तथा बंगलादेशी उद्योगीहरूले समेत स्थलगत अनुगमन गरेका थिए ।
अमेरिकी सरकारले नेपालमा उत्पादित विभिन्न प्रकारका गार्मेन्टलाई १० वर्ष भन्सार छुट दिने घोषणा गरेका कारण सेजमा लगानीकर्ताको आकर्षण रहेको जीतपुर सिमरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माको भनाइ छ । सञ्चालनमा आउने १७८ बिघामा अन्य उद्योग राख्न भने पाइने छैन ।
यस्तै, ब्लक बी र सी मा पनि पर्खाल लगाउने काम सुरु भएको छ । बी ब्लकमा १२८ बिघा र सि ब्लकमा ४९.५ बिघहा जमिन छ डी ब्लकमा १७८ बिघा र ई ब्लकमा १३३ बिघा जमिन छ ।