कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
124


पोखराको व्यस्त बजार पृथ्वीचोकमा नुनदेखि सुनसम्मका दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउने उद्देश्यले कुन्ती मल नयाँ संरचनामा सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका आम उपभोक्ताहरूलाई एकै छानामुनि सबै दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउने उद्देश्यले उक्त मल नयाँ संरचनासहित सञ्चालनमा ल्याइएको सञ्चालक मध्यका एक निरन्जन बजिमयले बताए ।

उक्त मलमा हाल १ सय २३ वटा सटर रहेका छन् । ४० प्रतिशत सटरहरू अझै खाली रहेको सञ्चालक बजिमयले बताए । तीनतले पक्की उक्त भवन निर्माण गर्न करिब १५ करोड लगानी भएको उनले जनाए । अन्डर ग्राउडमा पार्किङको व्यवस्था गरिएको छ भने पहिलो तलामा चंगा डिपाटमेन्ट स्टोर्स, सुनचाँदी पसल, फेन्सी रेडिमेट, ट्राभल्सलगायतका व्यापारिक प्रतिष्ठानहरू रहेका छन् । दोस्रो तलमा भने बिग बजार ६ सयमा भाडाँकुडादेखि लत्ताकपडा उपल्बध गराउने बिग बजार, मोबाइल, चस्मा, हेन्डसम पालर रहेका छन् भने तेस्रो तलामा भने हाल खाली छ । तेस्रो तलामा रेस्टुराँ सहितको अन्य व्यावसायिक प्रतिष्ठानहरू रहने भएको बजिमयले जनाए । शिवशंकर अफ्सेट प्रेसका सञ्चालकसमेत रहेका बजिमयले आफ्ना बाबु वसन्तलाल बजिमयले पोखरामा सुरु गरेको अफ्सेट प्रेस सहितको व्यापारी मललाई समयअनुसार व्यवसायीमा परिस्कृति गर्दै अघि बढेका छन् ।
बजिमय परिवारले प्रभु गुरुङ परिवारसँगको साझेदारीमा उक्त मल सञ्चालन गरेका हुन् । बजिमय परिवार र गुरुङ परिवारले ०४७ सालमा ४० कोठे पक्की भवनसहितको व्यापारिक मल बनाएका हुन् । सुरुको करिब ५ वर्षसमम व्यापारिक मलले धेरै राम्रो भएपछि त्यसपछि विस्तारै मलमा व्यापार घट्दो रूपमा रहेको उनले जनाए । पोखरामा अझै पनि राम्रो व्यापार गर्नेहरूलाई ठाउँको अभाव भएको महसुस भएर आफूहरूले संयुक्त रूपमा लगानी गरेको बजिमयले जनाए । बसन्तलाल बजिमयबाट छोरा निरन्जनलाई पुस्ता हस्तान्तरण भएको छ भने प्रभु गरुङबाट छोरा युवा व्यवसायी विवेक गुरुङलाई पुस्ता हस्तान्तरण हुँदैछ ।
उक्त मलमा शान्ति सुरक्षाको पूर्ण ग्यारेन्टी भएको बताउदै बजिमयले मलमा सीसी क्यामरा, सरसफाइ, सुरक्षा गार्ड, फायरफाइटिङ लगायतका सेवाहरू रहेको जनाए ।
करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त मलको दुवैतर्फ सटरहरू र बीच भागमा खाली राखिएको अर्को सञ्चालक विवेक गुरुङले बताए । बेलायतमा बिज्नेसमा मास्टर्स गरेका विवेकले करिब ४ वर्षजसो विदेशमा अध्ययनो साथमा अर्कोको जागिर गरेका आज स्वदेशमा फर्किएसँगै मलसहित आफ्नो डिपाटमेन्टल स्टोर्स र ट्राभल्ससमेत सञ्चालन गरेका छन् । उमेरले २७ वर्ष पुगेका विवेक आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भनी विदेशबाट फर्किएर आफ्नो बाबुको व्यवसायलाई साथ दिँदैछन् । अध्ययनको क्रममा विवेकले वार्षिक २० लाख जसो आम्दानी गरी आफ्नो अध्ययन खर्चको जोहो आफैं काम गरेर गरेको उनले जनाए ।