कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
88

सूचना प्रविधि क्षेत्रमा प्रतिष्ठित र ठूलो अवार्डका रूपमा चिनिएको ‘आईसिटी अवार्ड–२०१९’ को अनलाइन नोमिनेसन बुधबारदेखि खुला गरिएको छ । चौथो संस्करणका रूपमा आयोजना हुन लागिरहेको नोमिनेसन जेठ २५ गतेसम्म दर्ता गर्न सकिनेछ । लिभिङ विथ आईसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आईसिटी अवार्डको ग्रान्ड फिनाले २०७६ साल साउन ३२ गते काठमाडौंमा आयोजना हुनेछ ।
आईसिटी अवार्ड–२०१९ मा यस वर्ष विभिन्न ९ विधामा अवार्ड सञ्चालन हुनेछ । स्टार्टअप आईसिटी अवार्ड, प्रडक्ट आईसिटी अवार्ड, पायोनियर आईसिटी अवार्ड, डिजिटल गभर्नेन्स आईसिटी अवार्ड, आन्टरप्रेनर्स आईसिटी अवार्ड र डायस्पोरा आईसिटी अवार्ड छन् । यसैगरी यस वर्ष डिजिटल एजुकेसन आईसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको छ ।

जेठ १ देखि २५ गतेसम्म अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजक समितिले जानकारी दिएको छ । यसैगरी असारको पहिलो हप्तादेखि सर्टलिस्ट प्रकाशन गरी छनोटका अन्य अभ्यास सुरु हुने जुरी समूहमा रहेका हेमपाल श्रेष्ठले जानकारी दिए । यस वर्ष पनि १० जनाको जुरी समूह रहनेछ भने ७ जना जुरी सल्लाहकारका रूपमा छन् ।
यस वर्षको आईसिटी अवार्डका लागि ४ महिना अघिदेखि नै तयारी सुरु गरिएको आयोजकले जनाएको छ । अवार्डको प्रि इभेन्ट क्याम्पियनका रुपमा विराटनगर, बुटवल र नारायणगढमा ‘स्टार्टअप एन्ड इनोभेसन मेला’ आयोजना गरिएको छ । स्थानीय स्तरहरुमा विद्यार्थीका प्रोजेक्ट र स्टार्टअप्सका प्रडक्टहरुलाई प्रवद्र्धन गर्दै राष्ट्रिय प्लाटफर्म दिने उद्देश्यले स्टार्टअप मेला आयोजना गरिएको छ । अवार्डमा नोमिनेसन दर्ता गर्न आइसिटी अवार्ड डट ओआरजी लगइन गर्नुपर्नेछ ।